काठमाडौं – नेकपा एमालेको औपचारिक विभाजनपछि सत्तारुढ गठबन्धनका नेताहरु पहिलोपटक छलफलमा जुटेका छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले विभाजन गरेका माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।

उनीहरूबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बिहान करिब २ घण्टा छलफल भएको बताइएको छ। सत्ता साझेदार दलका शीर्ष नेतासमेत रहेका तीन जनाको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ।

नेपालले बुधबार एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइसकेका छन्। सरकारले मंगलबार सिफारिस गरेको राजनीतिक दल सम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार जारी गर्ने बित्तिकै नेपाल दल दर्ताका लागि आयोग पुगेका हुन्।

त्यसको भोलिपल्ट तीन नेताहरूबीच भएको भेटका क्रममा मुलुकको समसामयिक राजनीति र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ।

माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एमालेको माधव नेपाल पक्ष, जनमोर्चको सहयोगमा प्रधानमन्त्री बनेका कांग्रेस सभापति देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। अध्यादेश जारीबाट एमाले फुटेसँगै अब मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ।

सम्बन्धित खबरहरु