काठमाडौं – एमाले विभाजनसंगै देउवा सरकारले माधव नेपाल पक्षलाई सत्तामा जिम्मेवारी दिन सुरू गरेका छन्।  । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले वागमती प्रदेश प्रमु्ख विष्णु प्रसाइलाई हटाएर उनको ठाउँमा यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

एमाले विभाजन गरेर अर्को पार्टी खोल्नेबित्तिकै गठबन्धन सरकारले माधव नेपाललाई सत्तामा जिम्मेवारी दिन शुरू गरेको हो ।

शर्मा माधव नेपाल प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव थिए भने नेपाल नेतृत्वको एमाले विभागका सचिव थिए । माधव नेपालका सदावहार सहयोगी शर्मालाई उनले राजदूत बनाउनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई आग्रह गरेका थिए । तर ओलीले शर्माको साटो माधव नेपाल निकटकै एमाले नेता बंशीधर मिश्रलाई बंगलादेशको राजदूत बनाएका थिए ।

पदमुक्त भएका विष्णु प्रसाई पनि एमालेकै नेता हुन् । झापा जिल्लाका पुराना नेता प्रसाई मेची नगर नगरपालिकाको मेयरमा पराजित भएका थिए । उनी २०५४ सालमा झापा जिल्ला विकास समितिको उपसभापति थिए ।

त्यस्तै सरकारले  नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने र सैनिक सेवा  नियमावली २०७८ स्वीकृत गर्ने निर्णय समेत गरेको छ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले आउँदो भदौ २५ गते अवकास पाएसँगै शर्माले प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन्।
अवकासभन्दा एक महिना पहिले विदा बस्ने प्रचलन अनुसार थापा साउन २५ देखि विदा बसेका थिए। त्यसयता शर्माले कायमुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हालिरहेका छन्। उनी तीन वर्ष सेनाको नेतृत्वमा रहनेछन्।

नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणीका सह-सचिव डिल्लीराम शर्मालाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ।

तराई मधेश द्रुत मार्गको लागि आवश्यक मकवानपुरको तालभैरव र गौरीशंकर क्षेत्रको वन हटाउन स्वीकृती दिने निर्णय पनि सरकारले गरेको छ।

नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष रहेका महेन्द्र विष्टले दिएको राजीनामा स्वीकृत गर्ने, सहसहचिव डिल्लीप्रसाद रेग्मीलाई सचिवमा बढुवा गर्ने निर्णय समेत भएको सरकार प्रवक्ता एवं कानुनमन्त्री कार्कीले बताए।

सम्बन्धित खबरहरु