माधव नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको नाम परिवर्तन गरेको छ । यसअघि नेकपा एमाले समाजवादी नाम राखिएको अब सो पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ ।
राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन् । यसअघि माधव नेपाल पक्षले प्रस्ताव गरेको नेकपा एमाले (समाजवादी) नाम मूल पार्टीसँग जुधेको भन्दै निर्वाचन आयोगले अस्वीकार गरेपछि नयाँ नाम जुराइएको हो । एमाले जोडिएको नाम अस्वीकृत हुने सम्भावना देखेपछि नयाँ नाम प्रस्ताव गरिएको हो ।
माधव नेपाल पक्षले पार्टीको नामबाट एमाले हटाए पनि महन्थ ठाकुरले आयोगले दिएको निवेदनमा भने जसपा नाम प्रयोग गर्दै ‘जसपा लोकतान्त्रिक’ नाम दाबी गरेको छ । आयोग स्रोतका अनुसार उसले पनि माधव समूहले जस्तै नाम सच्याउनुपर्ने हुनसक्छ ।
त्यस्तै, ९५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएकोमा सोको संख्या बढाएर ११५ पुर्याइएको छ । चुनाव चिन्हको बारेमा भने अझै निर्णय भइसकेको छैन । नयाँ पार्टीका लागि ‘खुला किताब’ चुनाव चिन्ह प्रस्ताव गरिएको थियो । तर, त्यो अर्को पार्टीसँग मिलेपछि त्यसमा विवाद सिर्जना भएको थियो ।
अब दल दर्ताका लागि निवेदनमा उल्लेखित केन्द्रीय सदस्यहरुको सनाखत लगायतको प्रक्रिया पूरा गरेपछि आयोगले नयाँ दललाई वैधानिकता दिने कानूनी प्रावधान रहेको छ । यसका लागि आयोगले ३५ दिन लिन सक्ने भए पनि चाँडै टुंगो लगाइने आयोगका एक पदाधिकारीले बताए ।