काठमाडौं- माधव कुमार नेपाललाई छाडेका नेताहरुको बैठक सकिएको छ । महराजगञ्जस्थित एक पार्टी प्यालेसमा शुक्रबार दिउँसोबाट सुरु भएको बैठक अहिले भर्खरै सकिएको छ।

राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश जारी भएपछि एमाले वरिष्ठ नेता माधव कुमार नेपालले नयाँ पार्टी गठनको प्रकृया थाल्दा त्यसमा सहभागी नभइ नेता नेपाललाई छोडेका स्थायी कमिटी, केन्द्रीय कमिटी सदस्यहरु र सांसदहरु अन्तिम पटक ओलीलाई १० बुँदे सहमति अनुसार अघि बढ्न मनाउने प्रयास गर्ने नेता गोकर्ण विष्टले जानकारी दिए।

बैठकमा उपाध्यक्ष युवराज ज्ञवाली, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुषाल, सचिव भीम आचार्य, सचिव गोकर्ण विष्ट, सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र स्थायी कमिटी सदस्य रघुजी पन्तसहित करिब ५७ जना केन्द्रिय कमिटीका नेताहरु सहभागी रहेको नेता विष्टले बताए  ।

‘पार्टी एकताका लागि ओलीलाई १० बुँदे सहमति कार्यान्वयन गराउन र माधव नेपाललाई पनि पार्टीमा फर्किन दबाब दिने छौं ’, विष्टले भने ।

नेपालले नयाँ पार्टी गठन गर्ने र ओलीले नेपालपक्षलाई पार्टीबाट बिदा गर्न खोज्ने दुबै अतिवादी भएको भन्दै उनीहरु दुबै पक्षमा नलागी बीचधारमा रहेका थिए। पार्टी विभाजनको अन्तिम तयारी भइरहँदा उनीहरुले अध्यक्ष ओलीलाई मनाउने प्रयास गरेका थिए तर त्यसलाई उनले स्वीकार नगरेपछि नेता नेपाललाई छाडेका उनीहरु थप छलफलमा बसेका हुन्।

हिजै मात्र माधवको साथ छाडेका ९ जना स्थायी कमिटी सदस्यहरुले ओलीले १० बुँदे सहमति कार्यन्वयन गर्नुपर्ने भन्दै विज्ञप्ति जारी गरेका थिए।

संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्ने नेताहरुमा बागमतीको मुख्यमन्त्रीमा नियुक्त भएकी नेतृ अष्टलक्ष्मी शाक्यसमेत रहेकी छन्। उनीहरुले आफूहरुलाई नवौं महाधिवेशनबाट निर्वाचित पार्टी पदाधिकारीका रुपमा चिनाएका छन्।

सम्बन्धित खबरहरु