काठमाडौँ – नेकपा एमाले विभाजनमा माधव नेपाल समूहको साथ नदिएका एकता पक्षधर स्थायी कमिटीका सदस्यहरु अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक छलफलका सकिएको छ ।

छलफलमा नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाउन स्थायी कमिटी बैठक बोलाउने सहमति भएको छ ।

माधव नेपालको साथ छाडेका मध्यमार्गी धारका नेताहरूसँगको छलफलपछि मंगलबार स्थायी कमिटी बैठक बस्न लागेको हो । एमाले प्रवक्ता प्रदिप ज्ञवालीले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रियामा लैजानका लागि बैठक बस्न लागेको  बताए ।

स्थायी कमिटी बैठक भोलि मंगलबार ११ बजेको लागि बोलाइएको उनले बताए। अब एमाले एकताबद्ध रहेको र केही व्यक्ति बाहिरिए पनि आमरुपमा पार्टी एक ठाउँमा उभिने बताए ।

१० बुँदे सहमति कार्यान्वयन गर्न आइतबार आफ्नो समूहको स्थायी कमिटी बैठकपछि शंकर पोखरेल लगायतका नेताहरुसँग छलफल वार्ता गरेका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरु १० बुँदे कार्यन्वयनको विषयमा छलफल गर्न बालकोट पुगेका थिए ।

माधव नेपालले एमाले विभाजन गरेर नयाँ दल दर्ताका लागि निवेदन दिएपछि सो समूहबाट पनि अलग भएका उनीहरुले यसबीचमा एकता पक्षधर केन्द्रीय सदस्य र सांसदहरुको भेला राखेर १० बुँदे सहमति अक्षरशः कार्यन्वयन गर्न अध्यक्ष अ‍ोलीलाई अल्टिमेटम दिएका थिए ।

आइतबार दुवै पक्षका नेताहरुको छलफलमा १० बुँदे सहमति कार्यन्वयनको जिम्मा शंकर पोखरेलले लिएका थिए । पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेललगायतको पहलमा अध्यक्ष ओलीसँग एकता पक्षधर नेताहरुको वार्ता भएको बताइएको छ ।

एमाले केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमति अनुमोदन गरिसकेकाले अब कार्यान्वयनमा कुनै समस्या नरहेको पोखरेलले बताए । पोखरेलका अनुसार तत्कालै स्थायी कमिटी बैठक बसेर १० बुँदे कार्यान्वयन र जेठ २ अघिका कमिटीहरु क्रियाशील बनाइनेछ ।

१० बुँदे कार्यान्वयन हुँदा नेकपा एकतासँगै एमालेमा मिसिएका कमिटी र नेताहरुसहितको बैठक बस्ने बताइएको छ । १० बुँदे कार्यान्वयनको मोडालिटीबारे बालकोटमा छलफल भइरहेको छ ।

अध्यक्ष ओली र नेता नेपालबीचको विवाद वारपार भए पनि नेपाल समूहमा रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे, अमृत कुमार बोहोरा, रघुजी पन्तलगायतका दोस्रो धारका नेताहरूको भने पार्टी एकता जोगाउन दौडधुप जारी नै छ ।

सम्बन्धित खबरहरु