काठमाडौं- नेकपा (एमाले)को स्थायी कमिटी बैठक भोलिका लागि बोलाइएको छ। भोलि बिहान १० बजे बैठक बस्ने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा छलफलका लागि पुगेका ‘मध्यमार्गी’ नेताहरुसँगको छलफलपछि बैठकको मिति तय गरिएको हो।

नेपाल समूहसँग रहेका, तर नेकपा एकीकृत समाजवादीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुले १० बुँदे सहमति अक्षरस कार्यान्वयन गर्न नेतृत्वलाई सोमबारसम्मको अल्टिमेटम दिएका थिए । उनीहरु सोमबार विहान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए ।

बैठकमा मध्यमार्गी धारमा रहेका नेताहरु पनि सहभागी हुने ज्ञवालीले बताए। माधव नेपाल भने पार्टी विभाजनको बाटो हिँडिसकेकाले उनी नआउने आशय ज्ञवालीको थियो। भोलिको बैठकमा सबै कमरेडहरु उपस्थित हुनुहुनेछ। त्यहाँबाट पार्टीलाई थप सुदृढ बनाउने निर्णय गर्नेछ’, उनले भने।

विभाजनमा नगएकाहरुलाई रोक्नका लागि सो बैठकले आह्वान गर्ने उनको भनाइ छ। आजको बैठकमा ओलीले एकताको आवश्यकताको विषयमा चर्चा गरेको ज्ञवालीले बताए।

अध्यक्ष ओली र नेता नेपालबीचको विवाद वारपार भए पनि नेपाल समूहमा रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे, अमृत कुमार बोहोरा, रघुजी पन्तलगायतका दोस्रो धारका नेताहरूको भने पार्टी एकता जोगाउन दौडधुप जारी नै छ ।

सम्बन्धित खबरहरु