काठमाडौं- नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले सोमबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

निगमले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास (एलपी) तथा हवाई इन्धनको मूल्य बढाएको हो। पेट्रोल, डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाइएको छ।

२ रुपैयाँ बढाएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ। यस्तै, डिजेल र मट्टितेलको मूल्य ११३ रुपैयाँ कायम भएको छ।

यस्तै, खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाइएको छ। अब एक सिलिण्डर ग्यासको मूल्य १४ सय ५० पर्नेछ।

निगमले हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको छ। हवाई इन्धन अन्तर्राष्ट्रिय उडानमा प्रति किलोलिटर अमेरिकी डलर १६ ले वृद्धि गरी नयाँ विक्री मूल्य अमेरिकी डलर ७७० प्रति किलोलिटर कायम गरिएको छ ।

इण्डियन आयल कर्पेरेसनबाट प्राप्त मूल्य सूचीअनुसार निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य समायोजन गरिएको बताएको छ । गत असार ३० गते पनि निगमले मूल्य बढाएको थियो ।

मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर ८.४२ रुपैयाँ, डिजेलमा प्रति लिटर २.६४ रुपैयाँ तथा एलपी ग्याँसमा प्रति सिलिण्डर ४२०.७५ रुपैयाँ घाटा रहने निगमले बताएको छ ।

सम्बन्धित खबरहरु