नेकपा एमाले प्रवक्ताको जिम्मेवारीमा योगेश भट्टराई फर्किएका छन्। उनले बुधबारदेखि औपचारिक रूपमा प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन्।

मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीका संरचना २ जेठ ०७५ कै अवस्थामा ब्यूँताउने सहमति गरेको थियो। त्यसपछि बुधबारदेखि भट्टराईले प्रवक्ताका रुपमा काम थालेका हुन्।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनुअघि २०७५ जेठ २ गतेसम्म भट्टराई पार्टी प्रवक्ताकै जिम्मेवारीमा थिए। मंगलबारसम्म प्रदीप ज्ञवाली पार्टी प्रवक्ताको भूमिकामा थिए ।

मंगलबार च्यासलमा बसेको स्थायी समिति बैठकले गरेका निर्णयबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ताका रुपमा भट्टराईले जिम्मेवारी सम्हालेर पार्टी २ जेठ ०७५ कै अवस्थामा पुगेको सन्देश दिएका छन्।

यस्तै नेकपा एमालेका नेता योगेश भट्टराईले नेकपा एमाले विभाजन गर्नेसम्मको गतिविधि हुनु दुर्भाग्यपूर्ण अवस्था रहेको बताएका छन् । बुधबार पार्टीका तर्फबाट आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीभित्र लामो समयदेखि जारी रहँदै आएको विवादका कारण तमाम कार्यकर्ता पंक्ति निराश भएको अवस्थामा विवाद समाधानका लागि १० सदस्यीय कार्यदल बनाइएको स्मरण गराए ।

‘अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सहमतिमा समस्याको निकास खोज्न १० सदस्यीय कार्यदल बन्यो’ उनले भने, ‘डेढ महिना समय लगाएर आन्तरिक समस्यामा छलफल गरियो र लामो छलफलपछि १० बुँदे प्रस्ताव त्यो कार्यदलले तयार गर्‍यो ।’ तर त्यो सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने अवस्थामा माधवकुमार नेपालले अलग दल दर्ताका लागि सक्रियता बढाएको भन्दै उनले गुनासो गरे ।

‘आफैले कार्यदल निर्माण गर्ने, त्यो कार्यदलले १० बुँदे प्रस्ताव गरेको अवस्थामा माधवकुमार नेपाल नेतृत्वमा पार्टी विभाजन गर्ने तहसम्मको क्रियाकलाप भयो’ उनले भने, ‘यो दुर्भाग्यपूर्ण अवस्था हो ।’ दल विभाजनका विगतका इतिहासलाई हेर्दा यसबाट अतिवादी शक्ति मौलाउने खतरा देखिएको उनले बताए ।

सम्बन्धित खबरहरु