नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउने नियतका साथ दल विभाजनसम्बन्धी अध्यादेश ल्याइएको बताएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनका क्रममा ओलीले एमाले फुटाइसकेकाले जुनसुकै बेला उक्त अध्यादेश सरकारले फिर्ता लिन सक्ने पनि बताए।
‘१२ बजे राति संसद अन्त्य गरेर बिहानै अध्यादेश ल्याइन्छ’, उनले भने, ‘एमाले विभाजनका लागि ल्याएको हो त्यो अध्यादेश, माधव नेपाललाई सोधेर वा गरौँ कि र गरौँ भनी भनी २० प्रतिशतको थ्रेस होल्ड राखेर अध्यादेश ल्याइएको छ।’
माधव नेपालले एमाले फुटाइसकेपछि उक्त अध्यादेश रद्ध गर्ने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेको पनि ओलीले बताए। ‘माधव नेपालजीले पार्टी फुटाइसकेपछि अध्यादेश स्वत: रद्ध गर्ने तयारीमा छन्’, उनले भने, ‘उनीहरु (शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड) थर्कमान छन्, आफ्नै पार्टीमा पहिरो जाने डरले।’
ओलीले आफ्नो सरकारले ल्याएको र अहिले ल्याएको अध्यादेश फरक रहेको पनि बताएका छन्। ‘पहिलेको र अहिलेको अध्यादेश उस्तै होइन’, उनले भने, ‘मैले अध्यादेश ल्याउँदा कुनै पार्टी फुट्ने अवस्था थिएन। फ्लोर क्रस पनि चलेको थिएन। असाधारण र असामान्य अवस्था कहीँ पनि थिएन।’
तर अध्यक्ष केपी शर्मा ओलीले अध्यादेश जारी गर्नु आफैमा असंवैधानिक नहुने बताएका छन् । आफूले देश र जनताको हितका लागि, सांसदहरुको अधिकार रक्षाका लागि संविधानको मर्म अनुसार नै राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको ओलीको भनाइ थियो ।
शेरबहादुर देउवा नेतृत्वले ल्याएको अध्यादेश ‘देश जोगाउनका लागि’ भनिएको प्रति उनले आपत्ति जनाए । उनले प्रश्न गरे, ‘एमाले फुटाउन नपाइएको भए देश के हुन्थ्यो ? यो घाममा राखेको बरफको डल्लो हो ? कर्कलाको पानी हो यो देश ? देश जोगाउनका लागि ? यो अनैतिक कार्य नहुँदा देश जोगिँदैन ?’
संविधानले सांसदलाई दिएको अधिकार व्यवहारिक अर्थमा कार्यान्वयन हुन सकोस् भनेर आफूले अध्यादेश जारी गरेको जिकिर गर्दै उनले कुनै पार्टी विशेषलाई फुटाउने उद्देश्यका साथ त्यो बेला अध्यादेश नल्याइएको दाबी गरे । ‘कुनै पार्टीमा फ्लोर क्रस गर्ने काम भएको पनि थिएन ।
पार्टीभित्र सामान्य विवाद हुँदा हुन् तर कुनै पनि पार्टी त्यतिबेला फुट उन्मुख थिएनन्,’ उनले भने, ‘संसदमा ४० प्रतिशत संख्या पु¥याएर अलग हुन पाउने सांसदको अधिकार हो, हामीले दल वा संसद भनेका थियौं ।’ तर अहिले पार्टी फुटाउनका लागि कोसँग कति मान्छे छन् भन्ने हिसाब गरेर अध्यादेश ल्याइएको उनले आरोप छ । ‘१२ बजे राति सदन अधिवेशन अन्त्य हुन्छ, भोलिपल्ट अध्यादेश आउँछ,’ उनले भने ।
कुनै दललाई फुटाउन, कसैलाई सजिलो पार्नका लागि अध्यादेश ल्याउने क्रममा नै राजनीतिक दल सम्बन्धी अध्यादेशमा ‘केन्द्रीय सदस्य वा संसदीय दलको २० प्रतिशत’सम्बन्धी प्रावधान राखिएको उनको दाबी छ । उनले व्यङ्ग्य गर्दै भने, ‘माधव नेपालजीसँग जति सांसद हुनुहुन्छ, त्यति भए पुग्ने भनेर लेखेको भए सजिलो हुन्थ्यो ।’
यस्तै उनले एमाले फुटाउन सांसदहरुलाई घर-घरबाट थुतेर चन्द्रागिरीमा लगेर थुनेर राखेको आरोप लगाए । ओलीले बलजफ्ति, अपहरणकारी र ज्यादतीपूर्ण ढंगले एमालेका सांसदहरुलाई चन्द्रागिरीमा लगेर थुनेर राखेको बताएका हुन् । ‘अपहरणकारी, ज्यादतीपूर्ण कार्य भयो । सांसदहरु जस्ता मान्छेलाई थुनेर । फकाइ फकाइ लगेर, राम्रै विस्तारमा सुतेर, राम्रै खान दिएर मान्छे घर घरबाट तानेर थुनियो’ ओलीको आरोप छ । उनले रिसोर्ट वा चाहे फइभस्टारमा होटलमै राखेको भएपनि ‘त्यो सांसदहरुलाई थुनिएकै हो’ भनेर दावी गरे ।
यस्तै ओलीले सभामुखको भूमिकामाथि प्रश्न उठाएका छन् । नेकपा एमालेले कारवाही गरेका १४ सांसदलाई पदमुक्त गर्ने सन्दर्भमा सभामुखले सूचना टाँस नगरेको भन्दै उनले कटाक्ष गरे । आफूहरुले पार्टी नफुटोस् भनेर १४ सांसदलाई कारवाही गरेको तर कारवाहीमा परेका ती सांसद लगायतको संख्या जोडेर अध्यादेशअनुसार दल विभाजन गराउनका लागि नै सभामुखबाट उनीहरु पदमुक्त भएको सूचना जारी नगरिएको उनको आरोप छ ।
‘लेखराज भट्टजीहरुलाई कारवाही गर्दा माओवादीको केन्द्रीय कमिटीले निर्णय गरेको होइन,’ सभामुखतिर लक्षित गर्दै उनले भने, ‘नेकपा एमालेले गरेको कारवाही ९ दिनसम्म थन्क्याएर दाँत टाल्न जानुभयो । मेरो शुभकामना छ, दाँत राम्रोसँग टालियोस् ।’ यसअघि भक्तपुरमा आयोजित पार्टीको कार्यक्रममा पनि ओली सभामुखमाथि खनिएका थिए ।