काठमाडौं– निर्वाचन आयोगले एमालेबाट विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको पार्टी, नेकपा (एकीकृत समाजवादी) लाई दर्ता गर्ने निर्णय गरेको छ।
आयोगले केही बेर अघि यस्तो निर्णय गरेको हो। आयोगका प्र्रवक्ता राजकुमार श्रेष्ठले दल दर्ता गरेर प्रमाणपत्र दिने निर्णय भएको बताए।
सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि एमालेका ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।
आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ (दोस्रो संशोधन अध्यादेश २०७८) को दफा ३३ बमोजिम दल दर्ता गरी दर्ताको प्रमाणपत्र समेत प्रदान गरेको छ।
नयाँ दर्ता भएको दलको केन्द्री कार्यलय काठमाडौंको नयाँ बानेश्वरमा हुने विवरण निर्वाचन आयोगमा उल्लेख गरिएको छ।
