काठमाडौँ – एमाले विभाजनकाे असर प्रदेश १ सरकारमा पनि देखिने भएको छ। केहिदिन अघि बागमती प्रदेशमा पनि नाटकीय रुपमा फेरिएको थियो। त्यहिँ घटना प्रदेश १ सरकारमा पनि दोहोरिने देखिएको छ। एमालेका दोस्रो तहका १० नेता एमालेमा फर्किएपछि प्रदेश १ को सरकार पनि फेरिने भएको छ।
वरिष्ठ नेता माधवकुमार नेपालले एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) पार्टी बनाएको भोलिपल्ट प्रदेश १ मा शेरधन राईले करिब साढे तीन वर्ष लामो सत्ता यात्रा टुंगाउन लागेका हुन्।
राईले आफ्नो सत्ता यात्रालाई टुंगोमा पुर्याउन आजका लागि संसदीय दलको बैठक बोलाएका छन् । बिहान ११ बजेपछि बस्ने बैठकमा कति सांसद उपस्थित हुन्छन्, त्यसले एमाले विभाजनको असरलाई चित्रित गर्नेछ ।
उक्त बैठकमा मुख्यमन्त्री राईले प्रदेश १ एमाले संसदीय दलको नेताबाट राजीनामा दिने भएका छन्। त्यही बैठकबाट यसअघि मुख्यमन्त्रीका लागि प्रतिस्पर्धा गरेका भीम आचार्यलाई दलको नेता बनाइँदैछ।
राईले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि बिहीबार नै आचार्य मुख्यमन्त्री बन्न लागेका हुन्। आचार्यलाई मुख्यमन्त्री बनाएर सत्ता हस्तान्तरण गर्ने राईले एमाले शीर्ष नेतृत्वसँग छलफल समेत गरिसकेका छन्।
सांसदहरूले ‘कित्ता’ क्लियर गर्नुअघि नै एमालेले आफ्नै दलको नेतृत्वमा नयाँ सरकार बनाउने रणनीति बनाएको छ । असन्तुष्ट सांसदहरूलाई माधव नेपालकाे पार्टीमा जानबाट राेक्न मन्त्रालय दिएरै भए पनि एमालेले सरकार टिकाउने यत्न सुरु गरेको हाे ।
माधव नेपाल पक्षमा खुल्दै आएका सांसदहरूलाई महत्त्वपूर्ण जिम्मेवारी दिएर भए पनि नयाँ पार्टीमा लाग्नबाट रोक्ने र बहुमत सिद्ध गरेर आफ्नै नेतृत्वमा सरकार बनाउने दाउमा एमाले छ ।
सोही रणनीतिअनुसार आजकाे बैठकमा मुख्यमन्त्री शेरधन राईले संसदीय दलको नेताबाट राजीनामा दिने र त्यसमा भीम आचार्यलाई चयन गर्ने तयारी रहेकाे एमाले स्राेत बताउँछ ।
प्रदेशसभामा सभामुखसहित एमालेका ५१ सांसद थिए । तीमध्ये कतिजना नयाँ पार्टीमा लाग्छन् भन्ने यकिन हुन बाँकी छ । तर, बुधबार निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका सांसद राजेन्द्र राईले सो पार्टीमा एक दर्जन बढी सांसद रहने दाबी गरेका छन् ।