नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । मुख्मन्त्री शेरधन राईको प्रस्तावमा आचार्य दलको नेतामा सर्वसम्मत चयन भएका हुन् ।
आजै आचार्यलाई नयाँ मुख्यमन्त्री बनाउने एमालेको तयारी छ । केहिदिन अघि बागमती प्रदेशमा पनि नाटकीय रुपमा फेरिएको थियो। त्यहिँ घटना प्रदेश १ सरकारमा पनि दोहोरिने देखिएको छ। एमालेका दोस्रो तहका १० नेता एमालेमा फर्किएपछि प्रदेश १ को सरकार पनि फेरिने भएको छ।
वरिष्ठ नेता माधवकुमार नेपालले एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) पार्टी बनाएको भोलिपल्ट प्रदेश १ मा शेरधन राईले करिब साढे तीन वर्ष लामो सत्ता यात्रा टुंग्याएका हुन्।
बैठकमा मुख्यमन्त्री राईले प्रदेश १ एमाले संसदीय दलको नेताबाट राजीनामा दिएका छन्।
राईले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि बिहीबार नै आचार्य मुख्यमन्त्री बन्न लागेका हुन्। आचार्यलाई मुख्यमन्त्री बनाएर सत्ता हस्तान्तरण गर्ने राईले एमाले शीर्ष नेतृत्वसँग छलफल समेत गरिसकेका छन्।
प्रदेशसभामा सभामुखसहित एमालेका ५१ सांसद थिए । तीमध्ये कतिजना नयाँ पार्टीमा लाग्छन् भन्ने यकिन हुन बाँकी छ । तर, बुधबार निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका सांसद राजेन्द्र राईले सो पार्टीमा एक दर्जन बढी सांसद रहने दाबी गरेका छन् ।