काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटी बैठक सकिएको छ। बैठकले पार्टीको कारवाहीमा परिसकेका व्यक्तिलाई सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै निर्वाचन आयोगविरुद्ध अदालत जाने निर्णय गरेको छ ।
१४ जना सांसदलाई विधान र कानूनबमोजिम गरिएको कारवाहीलाई अघि नबढाएकोमा सभामुख अग्नि सापकोटा र कारवाहीमा परेका व्यक्तिको सनाखत लिएकोमा निर्वाचन आयोगविरुद्ध कानूनी उपचारमा जाने निर्णय केन्द्रीय कमिटी बैठकले गरेको सचिव प्रदीप ज्ञवालीले बताए ।
बैठकले पार्टी विभाजनमा लागेका केन्द्रीय सदस्यहरुको नाम निर्वाचन आयोगमा एमालेको अभिलेखबाट हटाउने निर्णय समेत गरेको छ ।
यस्तै नेकपा एमालेले १० बुँदे सहमतिलाई तत्काल कार्यन्वयन गर्ने भएको छ । केन्द्रीय कमिटीको बिहीबार बसेको बैठकले पार्टी एकताको मर्मलाई ध्यान दिँदै पार्टीका सबै कमिटी र जनसंगठनहरूमा १० बुँदे कार्यान्वयन गर्ने निर्णय लिएको हो ।
बैठकपछि एमाले सचिव प्रदीप ज्ञवालीले जनवर्गीय संगठनहरूलाई २०७५ जेठ २ अघिको अवस्थाबाट क्रियाशील बनाउन चार सदस्यीय कार्यदल गठन गरेको जानकारी दिए ।
महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलमा संगठन विभाग प्रमुख तथा उपमहासचिव विष्णु पौडेल, तत्कालीन एमालेको जनवर्गीय संगठन मोर्चा इन्चार्ज रहेका सचिव गोकर्ण विष्ट र हाल एमालेमा मोर्चा इन्चार्ज रहेका टोपबहादुर रायमाझी रहेका छन् ।
यो कार्यदलले सबै जनवर्गीय संगठनहरूमा १० बुँदे कार्यान्वयनको मोडालिटी बनाउने र त्यसलाई आवश्यक परे अर्को कार्यदलले सहजीकरण गर्ने बताए ।
हाल अनेरास्ववियू, युवा संघ, महिला संघ, किसान महासंघ, खेलकुद महासंघलगायतका जनवर्गीय संगठनमा जेठ २ अघिको नेतृत्व फेरिएकाले अब नयाँ ढंगले टुंगो लगाउन कार्यदल बनाइएको हो ।
यस्तै नेकपा एमालेले विधान अधिवेशन र राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेको छ ।
आज बसेको केन्द्रीय समिति बैठकले यसअघि भदौ अन्तिमा गर्ने भनेको विधान अधिवेशन र मंसिर दोस्रो साता तय भएको राष्ट्रिय महाधिवेशनको मिति परिवर्त गरेको हो । उपाध्यक्ष भीम रावलले दुवै अधिवेशनको मिति सारेको जानकारी दिए ।
‘प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी मंसिरमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले आगामी मंसिर १०-१२ मा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो।
मंसिर १०, ११ र १२ गते काठमाडौंमा राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरिएको हो। बैठकले संगठित सदस्यता असोज मसान्त भित्र नवीकरण गरिसक्नु पर्ने निर्णय गरेको छ।
भदौ १६ देखि २० सम्म पार्टी मा देखापरेका समस्या समाधान र १० बुँदे भावनाअनुसार पार्टी चलायमान बनाउन जिल्ला भेला सम्पन्न गर्ने पनि एमालेले निर्णय गरेको छ।