नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी नेपालका अध्यक्ष माधवकुमार नेपालले अब आफूहरु सरकारमा जाने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका क्रममा छुट्टै दलको हैसियत पाइसकेकाले सरकारमा जान कुनै समस्या नभएको नेपालले बताए। त्यस्तै उनले आफ्नो पार्टीले नेपाल कम्युनिस्ट पार्टी नछोड्ने पनि बताए ।
‘अब सरकारमा जान्छौँ, पाँच दलीय गठबन्धन पनि अघि बढ्छ,’ उनले भने, ‘सरकारमा गएर काम गर्न अब बाटो खुलेको छ।’
‘हामी कम्युनिस्ट पार्टी छोड्दैनौ, कम्युनिस्ट पार्टीले मात्रै जनताको समस्या सम्बोधन गर्छ’ नेता नेपालको भनाइ छ । उनले नेपाल कृषि प्रधान देशका भएकाले आफ्नो पार्टीले कृषिलाई नेपाली अर्थतन्त्रको जग बनाउने दावी गरे ।
‘हामी अवश्य पनि किसानलाई जग्गाको मालिक बनाउनेछौ’ उनले सुकुम्वासी समस्या समाधान गर्ने भन्दै शिक्षा, स्वास्थ्य, रोजगारी र शिक्षा लगायतका सात विषयलाई महत्व दिने बताए । भौतिक पूर्वाधारको विकास गर्दा हावादारी योजना अघि नसार्ने भन्दै ओलीले अघि सारेका पानी जहाज र रेलका सपना नबाँड्ने तर गर्नसक्ने कामहरु गर्ने बताए ।