काठमाडौं । नेपाली राष्ट्रिय फुटबल मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनाकाे घाेषणाकाे १ महिना नबित्दै राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाट्मोरले पनि राजीनामा दिएका छन् ।
वर्ल्ड क्रिकेट लिग टूको त्रिकोणात्मक सिरिज खेल्न ओमान पुगेका उनले इमेलमार्फत राजीनामा गरेका हुन् । उनले नेपाल क्रिकेट संघ (क्यान)लाई राजीनामा बुझाएकाे क्यान सचिव अशोकनाथ प्याकुरेलले पुष्टि गरेका छन् । साउन १० गते सामाजिक सञ्जालमार्फत राजीनामा दिने अलमुताइरीले राजीनाकाे घाेषणा गरेका थिए। राजीनामा दिने जनाएसंगै अब्दुल्लाह अलमुताइरी अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यालयमा पुगेका थिए । एन्फा कम्प्लेक्समा प्रशिक्षक अलमुताइरीसंगको छलफल गर्दै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले राजीनामा फिर्ता लिन आग्रह पनि गरेका थिए ।
उनकाे राजीनामा पश्चातराष्ट्रिय खेलकुद परिषद्ले फुटबल संघ भित्रको विवाद समाधानका लागि परिषद्का सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा गठित “ विवाद समाधान छानविन समिति” गठन गरेकाे थियाे । उक्त टाेलीले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाललाई आफ्नो प्रतिवेदन बुधवार बुझाइसकेकाे छ ।
अन्तराष्ट्रिय प्रशिक्षकहरूले एकपछि अर्काे गर्दै राजीनामा दिनुकाे पछाडि नेपाली खेलकूद जगतमा माैलाउँदै गएकाे अतिराजनीतिकरण भएकाे विश्लेषण गर्न थालिएकाे छ ।