काठमाडौं – सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो । रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो ।

एमाले अध्यक्ष केपी ओलीका कटु आलोचक रावलले नेता माधव नेपालको साथ छोडेर एमालेमै रहने निर्णय गरेपछि उनलाई आफ्नो पकड सुदूरपश्चिम प्रदेशमा ठूलो धक्का लाग्ने देखिएको छ ।

सुदूरपश्चिम प्रदेशसभामा एमालेबाट निर्वाचित २५ सदस्य छन् । विगतमा सभामुखबाहेक २४ सांसदमध्ये १७ जना नेपाल पक्ष र सातजना ओली पक्षमा थिए । माधव पक्षमा रहेका १७ जना नै रावलनिकट थिए । ति मध्ये अधिकांश रावलको साथ छोडेर नेपाल पक्षमा खुलेका छन् ।

सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारी पनि रावलका विश्वास पात्रमध्ये एक हुन्। तर एमाले फुटपछि उनले पनि भीम रावलको साथ छोडेका छन्।

एमाले अध्यक्ष केपी ओलीको कटु आलोचक रावलले नेता माधव नेपालको साथ छोडेर एमालेमै रहने निर्णय गरेपछि उनलाई आफ्नो पकड सुदूरपश्चिम प्रदेशमा ठूलो धक्का लाग्ने देखिएको छ ।

रावलनिकट रहेका उनी नेकपा एकीकृत समाजवादीमा लागेका छन्। प्रदेश सभामा सोडारीको बलियो पकड छ। एमाले कैलाली अध्यक्षसमेत रहेका उनलाई चैत्र २० मा ओली पक्षले हटाएको थियो। पछि रावलले उनलाई नेपाल समूहको समानान्तर कमिटीको अध्यक्ष बनाएका थिए।

यता एमाले कञ्चनपुरका अध्यक्ष तथा प्रदेश सांसद तारालामा तामाङले पनि रावलको साथ छाडेका छन्। रावलनिकट तामाङ नेकपा एकीकृत समाजवादीमा खुलेका छन्। उनी एकीकृत समाजवादीको काठमाडाै‌ं भेलामा सहभागी भए।

नेपाल समूहमा रहेकाले ओली पक्षले तामाङलाई पनि कञ्चनपुर अध्यक्षबाट हटाएको थियो। तर रावलकै पहलमा उनी नेपाल समूहको समानान्तर कमिटीका अध्यक्ष बनेका थिए।

यस्तै डडेल्धुराका अध्यक्ष डा. तारा जोशी पनि नेकपा एकीकृत समाजवादीमै खुल्ने मनस्थितिमा छन्। सुरुवातदेखि नै नेपाललाई साथ दिएकाले अब पनि उतै जाने सम्भावना बढि रहेको डा. तारा जोशीले बताए।

नेपालनिकट उनलाई पनि ओली पक्षले अध्यक्षबाट हटाएको थियो। पछि रावलले डडेल्धुराको समानान्तर कमिटी अध्यक्ष चयन गरेका थिए।

यता नेपालनिकट बझाङका अध्यक्ष दिल बहादुर सिंह पनि नेकपा एकीकृत समाजवादीतर्फ खुल्ने तयारीमा छन्।

उनी ओली समूहले बनाएका अध्यक्ष अफिलाल ओखेडाको अध्यक्षतामा बसेको बैठकमा अनुपस्थित थिए। सिंहलाई पनि अध्यक्षबाट हटाइएको थियो। तर रावलको सक्रियतामा नेपाल समूहको समानान्तर कमिटीको अध्यक्षको जिम्मेवारी दिइएको थियो।

सम्बन्धित खबरहरु