देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानबाट सिर्जित समस्याबारे गृहमन्त्री बालकृष्ण खाँणले शनिबार बिहान सम्बन्धित क्षेत्रका अधिकारीसँग जानकारी लिएका छन्।
गृहमन्त्री खाँणले प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी बलका प्रमुख (डडीआईजीपी) सँग बाढी, पहिरो र डुबानबारे जानकारी लिएका हुन्।
गृहमन्त्री खाँणले नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी माया भट्ट्राई पंगेनी, नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी ध्रमेन्द्रकुमार मिश्र, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङ र बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई टेलिफोन गरी वर्षापछि अवस्थाबारे जानकारी लिएका हुन्।
मन्त्री खाँणले अहिलेसम्मको कामको प्रशंसा गर्दै अझै वर्षा जारी रहेकाले पूर्वतयारी तीव्र पार्न निर्देशन उनीहरूलाई निर्देशन दिएका छन्।
‘अहिलेसम्म तपाईहरूले राहत, उद्धार र अस्थायी बसोबासको व्यवस्था गर्न गरेको काम सराहनीय छ,’ मन्त्री खाँणले भने, ‘अब पूर्वतयारीपट्टि त्यो भन्दा राम्रो गतीशीलताका साथ गर्नुहोला।’
नागरिककाे जीवन रक्षाका लागि उपलब्ध स्रोत र साधन उपयोग गरी कुनै कसुर बाँकी नराख्न पनि उनले निर्देशन दिएकाे मन्त्री खाँणकाे सचिवालयले जनाएकाे छ।