हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ.। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दुई दिनयता यस वर्षकै सबैभन्दा भारी वर्षा भएको छ । यसअघि दुई महिनाको मनसुन अवधिमा पूर्वानुमान गरिए अनुसार सरदरकै आसपासमा वर्षा भएको थियो ।

तेस्रो महिनाको मध्यतिर आइपुग्दा नेपालमा यस वर्षकै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाले औँल्याएको छ । शाखा प्रमुख मौसमविद् इन्दिरा कँडेलका अनुसार १३ वटा वर्षा मापन केन्द्रमा अति भारी वर्षा भएको देखिएको छ ।

अति भारी वर्षा रेकर्ड भएका स्थान पूर्वी र पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु,सिन्धुली,चितवन र धनुषाका वर्षा मापन केन्द्र रहेका छन् ।

उनले दिएको जानकारीअनुसार दुई दिनयता सबै भन्दा धेरै वर्षा नवलपुरमा भएको छ । त्यहाँको बतासास्थित वर्षा मापन केन्द्रमा ४३४.२ मिलिमिटर वर्षा रेकर्ड भएको हो ।

आइतबार देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

सोमबार देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी/धेरै भारी वर्षाको सम्भावना रहेको छ।

मंगलबार देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित खबरहरु