काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको छ।

भेटमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको थियाे। सत्ता गठबन्धनका दलका शीर्ष नेताबीचको बैठकमा केही दिनमै मन्त्रिपरिषद्लाई पूर्णता दिने समझदारी भएको जनाइएको छ। भोलि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको छ ।

जसपाका अध्यक्ष यादव काठमाडौंबाहिर रहेकाले सोमबार पुनः बैठक बसेर मन्त्री र मन्त्रालयको भागवण्डा गर्ने सहमति बनेको जनाइएको छ। दलहरुले प्राप्त गर्ने मन्त्रालय र संख्या टुंग्याएर सपथ पनि सोमबार नै हुने बालुवाटार स्रोतले जानकारी दिएको छ।

कांग्रेसले ७ तथा अन्य तीन दललाई ६/६ मन्त्रालय प्राप्त गर्ने सम्भावना छ।

यसअघि नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको दल दर्तालगायतको वैधानिक प्रक्रिया भए लगत्तै मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले बताउँदै आएका थिए।

केही दिनअघि निर्वाचन आयोगले नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका नेताहरुको सनाखत गर्दै पार्टी दर्ताको प्रमाणपत्र दिएसँगै सरकार विस्तारबारे छलफल भएको हो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको करिब डेढ महिना हुनै लाग्दा सरकारले पूर्णता पाउन नसक्दा आलोचना भइरहेको छ।

आइतबार बिहानै भएको छलफलमा मन्त्रिमण्डल विस्तार र मन्त्रालयको भागबण्डाबारे कुराकानी भएको सहभागी एक नेताले जानकारी दिए । गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अहिलेसम्म चार मन्त्रीसहित एक राज्यमन्त्री मात्र नियुक्त गरेका छन् । गठबन्धनमा सहमति नजुट्दा लामो समयसम्म सरकारले पूर्णता पाउन सकेको छैन ।

एमालेबाट छुट्टिएका माधव नेपाल नेतृत्वको समाजवादीलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी अनुसार नेताहरुबीच छलफल भएको हो । सत्ता गठबन्धनका दलका शीर्ष नेताबीचको बैठकमा केही दिनमै मन्त्रिपरिषद्लाई पूर्णता दिने समझदारी भएको जनाइएको छ।

सम्बन्धित खबरहरु