काठमाडौं– नेपालमा थप १३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा आइतबार थप १ हजार ३८८ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी ७ हजार २५९ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो।
पीसीआर विधिबाट नमूना परीक्षण गर्दा १ हजार २१४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ३ हजार ३८ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट १७४ जनामा संक्रमण पुष्टि भएको हो। २२ सय ६० जना निको भएका छन् ।
गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी २४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ७१४ पुगेको छ।