काठमाडौँ – सत्ता गठबन्धनको बैठक सकिएको छ। गठबन्धन सरकारले बजेट सच्याउने भएको छ । सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले ओली सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक बर्ष ०७८/०७९ को बजेट सच्चाउने निर्णय गरेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा आवश्यक कानुन बनाएर बजेट परिमार्जन गर्न सत्ता गठबन्धनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका हुन् । गठबन्धनका नेताहरुले दिएको सुझावमा प्रधानमन्त्री सकारात्मक भएको र चाँडै प्रक्रिया थाल्ने जनाएको बुझिएको छ ।
त्यस्तै बैठकमा मन्त्रिमण्डललाई चाँडो पूर्णता दिनेबारे पनि छलफल भएको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका नेता डा.विजय पौडेलले जानकारी दिए । ‘बजेट सच्चाउने र मन्त्रिमण्डललाई पूर्णता दिने बारेमा छलफल भयो । सम्भवत ः बुधबार मन्त्रिमण्डलले पूर्णता पाउँछ’ बैठकपछि पौडेलले भने, ‘कोभिड नियन्त्रणमा सरकारलाई प्रभावकारी काम गर्न हामीले सुझाव दिइएका छौ ।’ साथै बैठकमा बुटवल–नारायणगढ सडकको तत्काल स्तरोन्नती गर्न पनि सरकारलाई गठबन्धन दलले सुझाव दिएका छन् ।
गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा रहेका छन्।
जारी बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई लगायतका शीर्ष नेताहरुको सहभागीता रहेको छ।
त्यस्तै सत्ता गठबन्धनका नेताहरुले दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारको अडान प्रष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
सत्तारुढ गठबन्धनको सोमबार बसेको बैठकमा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाश लगायतले छानविन समितिको प्रतिवेदन आउन ढिलाइ भएकोमा असन्तुष्टि जनाएका छन् । ‘तत्काल प्रतिवेदन ल्याउनुपर्यो, हाम्रो अडान प्रष्ट पार्नुपर्यो र त्यसका आधारमा भारतसँग वार्ता गर्नुपर्यो’ उनीहरुले भनेका छन् ।
१५ साउनमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तार खुस्काइदिँदा जयसिंह धामी महाकाली नदीमा खसेका थिए । घटनाबारे छानविन गर्न भन्दै सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति बनाएको छ । तर अहिलेसम्म समितिले प्रतिवेदन तयार पारेको छैन ।
शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार बनेको डेढ महिना बितिसक्दा पनि सरकारले पूर्णता पाउन नसक्दा आलोचना भइरहेको छ।
नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै सरकार विस्तारबारे गठबन्धनमा छलफल सुरु भएको हो।
यसअघि आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको भएपनि नहुने भएको छ। यसअघि आइतबार सम्पन्न शीर्षनेताको बैठकले आज सरकारलाई पूर्णता दिने निर्णय गरेका थिए। आजै टुंग्याउने तयारी गरिए पनि गठबन्धनका दलबीच कतिपय विषयमा छलफल गर्नुपर्ने भएकाले सम्भव नभएको जनाइएको छ।