काठमाडौँ – पत्रकार देवप्रकाश त्रिपाठीले नयाँ पार्टी गठन गरेका छन् । काठमाण्डुको गैह्रीधारास्थित एलिस रिसेप्सनमा एक कार्यक्रम आयोजना गर्दै त्रिपाठी आफ्नो नेतृत्वमा एकीकृत शक्ति नेपाल नामक पार्टीको घोषणा गरेका हुन् ।

हिन्दू धर्म सापेक्ष, राजसंस्था र मौलिक नीतिका आधारमा एकीकृत शक्ति नेपालको घोषणा गरिएको पत्रकार त्रिपाठीले जानकारी दिए । उनले आइतबार नै निर्वाचन आयोगमा दल दर्ता गरेका छन्।

नेपाली काँग्रेससँगको लामो आवद्धता परित्याग गर्दै वरिष्ठ पत्रकार त्रिपाठीले नयाँ दलको घोषणा गरेका हुन् । हिन्दु धर्म सापेक्ष र राजसंस्थासहितको मुद्दा लिएर नयाँ दल घोषणा गरेका हुन् ।

सोमबार कृष्णाष्टमी पारेर उनले एकीकृत शक्ति, नेपाल दलको घोषणा गरेका हुन् । दलले धर्म, संस्कृति र परम्पराको संरक्षणलाई मुद्दा बनाउने बताए ।

काँग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार समेत बनेका त्रिपाठी विगतमा कम्युनिस्ट पार्टीमा आवद्ध थिए । उनी काँग्रेस पार्टीमा हिन्दु राष्ट्रको मुद्दा उठाउँदै आएका थिए । काँग्रेसको महाधिवेशन नजिकिदै गर्दा परित्याग गरी नयाँ दलको घोषणा गरेका छन् ।

त्रिपाठीले अहिलेको सत्ता हिंसाको पक्षपाती भएको आरोप लगाए । उनले जातीय विभाजन र झगडा गराउन खोजिएको भन्दै सत्तापक्षको आलोचना गरे ।

दानव राजको अन्त्यका लागि कृष्णको जन्म भएको जस्तै देशमा दानवराज अन्त्य गर्दै मानवराज स्थापनाका लागि एकीकृत शक्ति नेपाल गठन गरिएको त्रिपाठीले बताए ।

देशका मौलिक मूल्यमान्यता जोगाउनका लागि नयाँ दल गठन गर्नुपरेको उनले बताए । त्रिपाठीले अहिलेको संविधानका राष्ट्रविरोधी प्रावधान खारेज गर्नुपर्ने बताए ।

सम्बन्धित खबरहरु