नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाईसीएल नेपालले २३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ । विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीयल नेपालको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रिय समिति घोषणा गरेको हो ।

भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रिय समितिलाई नै दिएको छ । केन्द्रिय समितिको बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रिय समितिका सदस्यहरु भने चयन गरिएको वाईसीयलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशीखा’ले जानकारी दिए ।

नयाँ केन्द्रिय समितिमा २३ जना भने पछि मनोनित हुनेछन् । इन्चार्ज दीपशिखाका अनुसार वाईसियलको विधानमा १० प्रतिशत सदस्य पछि मनोनित गर्ने व्यवस्था गरिएकाले २३१ जनामध्ये २३ जना पछि मनोनित हुनेछन् ।

उनले भने, ‘१० प्रतिशत पछि मनोनित हुने गरी २३१ सदस्यीय केन्द्रिय समिति निर्माण गरेका छौं । यो केन्द्रिय समिति निर्माण गर्दै हाम्रो संगठनको राष्ट्रिय भेला सम्पन्न भएको छ । राष्ट्रिय भेलाबाट निर्वाचित केन्द्रिय समितिले बैठक बसेर पदाधिकारी चयन गर्नेछ ।’

हालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले नेतृत्व छाड्ने भएपछि अध्यक्षका लागि तीनजना दाबेदार छन् । अध्यक्षका लागि सुबोध सेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानले दावी गरेका छन् । २०७४ साल भदौमै भएको राष्ट्रिय भेलाबाट दीपशिखा अध्यक्ष चयन हुँदा देवकोटा उपाध्यक्ष थिए भने सेर्पाली महासचिव थिए ।

त्यस्तै महासचिवमा चारजना आकांक्षी देखिएका छन् । कसम गुरुङ, गणेश शाही, मिङ्मातन्डु शेर्पा र नवराज ढुंगाना ‘विश्वास’ले महासचिवमा चाहना राखेका छन् । यसमध्ये शाही र ढुंगाना सचिव थिए भने शेर्पा कोषाध्यक्ष थिए।

सम्बन्धित खबरहरु