काठमाडौँ – आज बसेको मन्त्रिपरिषद बैठक सकिएको छ। सरकारले नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको हो ।
विश्वकै दोस्रो अग्लो हिमाल केटू आरोहण गर्नेलाई सरकारले प्रोत्साहन स्वरूप एक लाख रूपैयाँ दिने भएको छ।
बुधबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकार प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आरोहीहरूलाई सरकारले एक लाख रूपैयाँ दिने निर्णय गरेको बताए।
पाकिस्तानमा रहेको सो हिमाल आरोहण गर्ने नेपाली पर्वतारोहीहरूलाई सरकारलाई नगद दिन लागेको हो। १० जनाको टोलीमा रहेका प्रत्येक पर्वतारोहीहरूलाई एक लाख रूपैयाँ दिन लागेको हो।
यस्तै अघिल्लो सरकारले गत आर्थिक वर्षको बजेटमा वृद्धि गरेको सामाजिक सुरक्षा भत्तालाई वर्तमान सरकारले कार्यान्वयनमा ल्याउने भएको छ । मन्त्रीपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको हो ।
तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा सबै प्रकारको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाएका थिए । सरकार परिवर्तनपछि अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेटमा सामान्य संसोधन गर्दै प्रतिस्थापन विधेयकको तयारी गरेका छन् ।
यस्तै सरकारले सहसचिव राजकुमार श्रेष्ठलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा गत बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिव श्रेष्ठसहित रवीलाल पन्थ र रामेश्वर दंगालको नाम सिफारिस गरेको थियो । श्रेष्ठ हाल निर्वाचन आयोगको प्रवक्ताको समेत जिम्मेवारीमा छन् ।
मन्त्रीपपरिषद् बैठकले नेपाल परराष्ट्र सेवाका दुई उपसचिवलाई सहसचिवमा बढुवा गर्ने निर्णय समेत गरेको छ । बढुवा हुनेमा उपसचिवहरु कृष्णचन्द्र अर्याल र धनबहादुर वली रहेका छन् ।