कामठाडौं –  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहानैदेखि गठबन्धनका शीर्ष नेताहरूसँगको भेटवार्तालाई तीव्र पारेका छन्। बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । आज (बिहीबार) बिहान प्रधानमन्त्री देउवा र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

बैठकमा मन्त्रिपरिषद् विस्तार र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ ।

असार २८ गते सर्वोच्च अदालतको परमादेशपछि २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। भदौ २२ गतेसम्म निर्वाचन आयोगले दल रोज्न एमाले र जसपाका प्रदेश सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरुलाई समय दिएकाले त्यसअघि मन्त्रिपरिषद् विस्तार नगर्ने दलहरुबीच केही दिनअघि सहमति भएको थियो ।

यस्तै सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच वार्ता भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई अध्यक्षबीच केहीबेर अघिदेखि वान टु वान वार्ता जारी रहेको स्रोतले जनाएको छ ।

हुम्लामा चीनसँगको सीमा विवाद र एमसीसीबारे चर्चा भइरहेका बेला दुई अध्यक्षबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सरकारले चीनसँग सीमा जोडिएको हुम्लाको नाम्खामा नेपाली भूभाग अतिक्रमण भए/नभएकोबारे अध्ययनका गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।

कार्यदलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नापी विभागका अधिकारी र सीमाविद् समेत सम्मिलित हुनेछन् । सीमा तथा कूटनीतिक मामिलाका जानकारहरूले भने सरकारको यो निर्णयले नेपाल–चीन सम्बन्धलाई असर गर्ने प्रतिक्रिया दिइरहेका छन् ।

साथै सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीचको सम्झौतालाई कसरी अघि बढाउने भन्नेबारे समेत छलफल भइरहेका बेला विगतमा एमसीसीको विरोधमा रहेका दुवै नेता अहिले सरकारमा समेत भएका बेला कस्तो धारणा बनाउछन् भन्ने चासो बढि रहेको छ ।

एमसीसी सम्झौता कार्यान्वयन प्रक्रिया ४ वर्ष पुग्न लाग्दा पनि अघि बढ्न सकेको छैन । यहीबेला बेला अमेरिकी दातृ निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उच्च अधिकारी काठमाडौं आउँदैछन् ।

सम्बन्धित खबरहरु