हाल (शुक्रबार बिहान) देशभर मौसम सामान्यदेखि पूर्णसम्म बदली छ भने प्रदेश नम्बर १, गण्डकी ,कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौं उपत्यकामा पनि बिहानैदेखि पानी पर्न थालेको छ। महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार यो हल्का वर्षा हो।
‘त्यसमा पनि उपत्यकाका सबै ठाउँमा पानी परेको छैन, निश्चित ठाउँहरूमा मात्र हल्का वर्षा भइरहेको हो,’ शुक्रबार बिहान नेपालखबरसँग उनले भने, ‘त्यस्तो ठूलो वर्षाको सम्भावना त छैन, दिउँसो मौसम खुल्न पनि सक्छ तर फेरि बेलुका हल्का वर्षा हुन सक्छ।’
महाशाखाका अनुसार आज दिउँसो (दिनमा) देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षा पनि हुने सम्भावना छ।
यस्तै राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा पनि हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।