काठमाडौं– छिमेकी राष्ट्र भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल २-१ गोल अन्तरले पराजित भएको हो।
भारतका लागि फारुकहाजी कासम चौधरी र कप्तान सुनिल क्षेत्रीले एक एक गोल गरे। नेपालका लागि तेज तामाङले गोल गरेपनि हार टार्न सकेनन्। यसअघि बिहीबार भएको पहिलो खेलमा भारतले नेपाललाई १-१ गोलको बराबरीमा रोकेको थियो।
नेपाललाई हराउने क्रममा भारतका फाहरुख चौधरी र सुनिल क्षेत्रीले गोल गरे। पहिलो हाफ बराबरीमा सकिएको अवस्थामा भारतले २ र नेपाल १ गोल दोस्रो हाफमै गर्न सफल भए।
भारतलाई जिताउने क्रममा खेलको ६२ औँ मिनेटमा फहारुख चौधरीले पहिलो गोल गरेका थिए। प्रतिस्पर्धात्मक खेलमा नेपाली रक्षा पंक्तिले अनमार्क छाडेको अवस्थाको फाइदा उठाउँदै चौधरीले गोल गरेका थिए।
त्यसपछि खेलको ८० औँ मिनेटमा कप्तान सुनिल क्षेत्रीले गोल गर्दै अग्रता २-० बनाएका थिए। नेपालले हानेको फ्रि किक बललाई निकालेको भारतका लागि सुनिलले काउन्टर एट्याकमा दोस्रो गोल गरे।
दुई गोलले पछि परिसकेको अवस्थामा नेपालले एक गोल फर्कायो।नेपालका लागि खेलको ८५ औँ मिनेटमा तेज तामाङले भारतको डिबक्स बाहिरबाट आकर्षक गोल गरेका थिए।
भारतीय पोस्टमा आक्रमणका क्रममा आएको बललाई डि बक्स बाहिरबाट प्रहार गर्दै तामाङले सुन्दर गोल गरेका थिए।
यसपछि दुवै टोलीले गोल गर्न नसक्दा खेल २-१ मा सकियो। खेलको पहिलो हाफमा भारतको तुलनामा नेपाली टोली आक्रामक रुपमा देखिएको थियो।
माल्दिभ्समा हुने साफ च्याम्पियन्सिपको तयारीका लागि गत बिहीबार भएको मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १–१ को बराबरी खेलेका थिए।