हाल देशमा उत्तर पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाले अघि बिहान ६ बजे दिएको जानकारीअनुसार प्रदेश नं १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।
काठमाडौं उपत्यकामा पनि अहिले वर्षा जारी छ।
मौसमविद् मीनकुमार अर्यालका अनुसार काठमाडौं उपत्यकामा अति भारी वर्षा भएको छ। त्रिभुवन विमास्थल क्षेत्रमा गरिएको मापनअनुसार १०५ मिलमिटर वर्षा भएको पाइएइको उनले बताए। याे भनेकाे अति भारी वर्षा हाे।
‘उपत्कयामा राति२ बजेदेखि वर्षा भइरहेको हो,’ उनले भने, ‘काठमाडौं उपत्यकाका आइसोलेटेड (बादल भएको निश्चित स्थान) मा वर्षा भइरहेको छ, यो क्रम अझै २/३ घण्टा जारी रहने देखिन्छ।’
मौसमविद् अर्यालका अनुसार अहिले देशका धेरैजसो स्थानमा वर्षा जारी छ।
‘२४ घण्टाको विवरण हेर्दा देशका सबै स्थानमा वर्षा भएको छ तर एक घण्टायताको अवस्था हेर्दा प्रदेश नम्बर १, गण्डकी, कर्णाली प्रदेशमा वर्षा कम हुँदै गएको छ भने सुदूरपश्चिम प्रदेशमा खासै वर्षा भएको छैन,’ मौसमविद् अर्यालले सोमबार बिहान ७ बजेतिर भने, ‘अहिले वर्षा भइराखेको स्थानचाहिँ बागमती प्रदेश, लुम्बिनी प्रदेशका धेरैजसो स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा वर्षा भइरहेको छ।’
महाशाखाका अनुसार आज दिउँसो (दिनमा) देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भने मेघगर्जन/चट्याङसहित भारी वर्षा पनि हुने सम्भावना छ।
यस्तै राति पनि धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बाग्मती तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा पनि हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।