काठमाडौं – गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीको सरुवा गरेको छ । प्रजिअ पराजुलीलाई मन्त्रालयमा सरुवा गरिएको हो ।

उनको ठाउँमा मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइएको छ । मन्त्रालयमा हाजिर भएपछि पराजुलीको शाखा तोकिनेछ ।

पराजुलीसँग बालुवाटार र गृहमन्त्रालय रुष्ट थियो । हालै माधवकुमार नेपालले नयाँ पार्टी बनाउने प्रक्रियामा चन्द्रागिरी रिसोर्टमा केन्द्रीय सदस्यहरुको भेला राखेका थिए ।

सीडीओ पराजुलीले महामारीको वेला भिड जम्मा गरेको भन्दै रिसोर्टलाई स्पष्टिकरण सोधेका थिए । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पराजुलीलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा काठमाडौंका सिडिओ बनेका पराजुलीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले मन्त्रालय तानेको हो।

पछिल्लो समय सिडिओ पराजुलीले काठमाडौंको चन्द्रागिरि रिसोर्टलाई स्वास्थ्य मापदण्ड पालना नगरेको भन्दै स्पष्टीकरण सोधेका थिए। नेकपा एमालेबाट विभाजन हुनुअघि गत भदौ ७ गते माधवकुमार नेपालसहित एमालेका केन्द्रीय सदस्य र सांसद रिसोर्टमा गएर दुई दिन बसेका थिए।

कोरोनाभाइरस महामारी चलिरहेका बेला सिडिओलाई जिल्लामा निषेधाज्ञा लगाउनेसम्मको अधिकार दिइएको छ।

सम्बन्धित खबरहरु