संघीय संसदको (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक आज बस्ने भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह ४ बजे बस्ने गरी दुबै सदनको बैठक आह्वान गरेकी थिइन्।
सरकारले संसदको अधिवेशनमा बजेट विस्थापन गर्न विधेयक ल्याउने सम्भावना छ। संघीय निजामती सेवा विधेयक, नागरिकता विधेयकलगायत पेश गर्ने र अध्यादेशहरूलगायत पनि कार्यसूचीमा छन्।
साउन ३२ मा सरकारले अधिवेशन अन्त्य गरेको थियो। त्यसबेला सरकारले अधिवेशन अन्त्य गरेर राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको थियो। अध्यादेशअनुसार नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भइसकेका छन्।
जसमा दल विभाजनसम्बन्धी अध्यादेश, शपथसम्बन्धी अध्यादेश, रेल्वे अध्यादेश, औषधिसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थलाई नियमन गर्नेसम्बन्धी अध्यादेश, नागरिकता अध्यादेश, यौन हिंसाविरुद्धका केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेश रहेका छन् ।
त्यस्तै गत मंगलबारसम्म स्थानीय, प्रदेश र संघीय संसदलाई दल रोज्न छुट दिइएको प्रति मुख्यतः प्रमुख प्रतिपक्ष दल एमालेले आपत्ति जनाउँदै आएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले एमालेले निस्काशनका लागि कारबाही सिफारिस गरेका सांसद्को सनाखत नगरिदिएको प्रति आपत्ति जनाउँदै आएको छ । जसकाकारण, सहज ढंगले संसद अधिवेशन सूचारु होला भन्ने आशंका कायमै छ ।