काठमाडौँ – नवौँ अधिवेशन सुरु भएसँगै बुधबारदेखि दुईवटा नयाँ दलले संघीय संसद्मा प्रवेश पाउने भएका छन् ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर नेकपा (एमाले) र जसपा नेपाल विभाजित गराई दिएपछि संसद्को बैठकमा दुई नयाँ पार्टीले प्रवेश पाउने भएका हुन् ।
नेकपा एमालेबाट विभाजित भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबाट विभाजित भएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी (लोसपा) पार्टीले पहिलो पटक संसदमा प्रवेश पाउन लागेका हुन् ।
‘दुई नयाँ पार्टी थपिएकाले संघीय संसद् भवनमा सिट व्यवस्थापनको काम सम्पन्न भइसकेको छ,’ संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने, ‘एकीकृत समाजवादी सत्तापक्षतर्फ र लोसपा प्रतिपक्षमा बस्ने गरी व्यवस्था मिलाइएको छ ।’
उनका अनुसार सो सिट व्यवस्थापन दुवै नयाँ दलको आग्रह अनुसार नै गरिएको हो ।