काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी धारमा नेता कार्यकर्ता रुपान्तरण नहुने हो भने पार्टीलाई विघटन गर्नुपर्ने बताएका छन्।
बुधबार नेताहरु सुरेश वाग्ले र भीमसेन पोखरेलको स्मृतिमा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति, रुपान्तरण, परिवर्तनका लागि समर्पित भएका हिँडेका नेता कार्यकर्ता व्यक्ति केन्द्रीत, स्वार्थ, गुट र पैसाको पछाडि लागेको भन्दै त्यस्तो भए पार्टीको औचित्य नभएको बताए।
उनले एमाले पछिल्लो समय विचार शून्य भएको भन्दै माओवादी केन्द्रपनि त्यस्तै हुँदै गएको टिप्पणी गरे। ‘क्रान्तिको निम्ति समर्पण भएर हिँडेको मानिस एमाले जस्तै भयौं भने यो पार्टीलाई विघटन गरिदिए हुन्छ’ प्रचण्डले भने,‘ पद,पैसा, गुटलाई प्रश्रय दिएर एमाले जस्तै हुने हो भने यसलाई विघटन गरिदिनु इमान्दारिता हुन्छ। जनतालाई धोका दिनु भन्दा।’
प्रचण्डले माओवादी केन्द्रको विरासत अन्य पार्टी जस्तो नभएको बताए।
पछिल्लो समय नेता कार्यकर्ता व्यक्तिगत स्वार्थमा लागेको, गुट बनाउने र आफूलाई व्यक्तिगत रुपमा जतिबेला पनि सत्ता र शक्तिमा राख्न खोजेको प्रचण्डको भनाइ थियो।
‘जसरी एमाले भन्ने पार्टी विचार शून्य छ, त्यहाँ विचार शून्यता छ, हामी त्यस्तै बनेका छौं’ उनले भने।
नेकपा एमाले पार्टीमा विचार शून्य भएपनि चुनाव जित्नका लागी चाहिने प्राविधिक पाटो जानेको र सूर्य चुनाव चिह्न भएको उनले बताए।