काठमाडौँ – नेकपा एमालेले संसदीय दलको बैठक सकिएको छ । आजदेखि सुरु हुने संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बोलाइएको बैठक भर्खरै सकिएको हो ।

आजको बैठकले संसद् बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाको भूमिका, अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी), जयसिंह धामीको घटनामा सरकारले गरेको व्यवहार, निर्वाचन आयोगले एमाले विभाजन गरेको लगायतका विषय उठाएर संसद अवरुद्ध गर्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

संसद बैठक आज ४ बजे बस्दै छ। बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न आज बिहान नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकले सो निर्णय गरेको हो।

‘सभामुखको भूमिका एमालेविरोधी माओवादी पार्टी कार्यकर्ताजस्तो भएको, एमसीसी मुलुकको हितमा नरहेको, निर्वाचन आयोग एमाले टुक्र्याउन उद्यत रहेको, जयसिंह धामीको घटनामा सरकारी व्यवहार भारतीयसामु लम्पसारवादी देखिएको जस्ता विषयमा एमाले मूकदर्शक बस्न अवश्य सक्दैन’, भट्टराईले भने।

त्यस्तै बैठकमा बोल्दै अध्यक्ष ओलीले आफूले कारबाही गरेका १४ सांसद उपस्थित भए संसद चल्न नदिने बताएको छन ।

आफूहरूले साउन २५ गते निष्कासन गरेका मान्छे भदौ २३ गतेको बैठकमा उपस्थित हुन नमिल्ने ओलीको तर्क छ । ‘यदि गैरसांसदको उपस्थिति छ भने कुनै पनि हालतमा गैरकानूनी ढंगले सदन प्रारम्भ हुनै सक्दैन,’ ओलीले भने, ‘संसदका नियमावलीले पनि त्यो दिँदैन ।’

एमालेकै कार्यकर्ता हौं भनेर विभाजन गर्न जाने, पार्टीकै सदस्य नै नभएको मानिसले कसरी संसदीय दल र पार्टी विभाजन गर्छ? जो हाम्रो सांसद नै होइन। समयमा नै सभामुखलाई जानकारी गराएका छौं’, उनले भने, ‘निर्वाचन आयोगसँग ३५ दिन वा ४५ दिनको समय हुँदा हुँदै एक हप्ताभित्र नै निर्णय गरियो। किन गरियो भने १५ दिनभित्र नै सभामुखले सूचना टाँस्नुपर्थ्यो त्यसैले सबै सेटिङ गरेर काम भयो।’

त्यस्तै ओलीले सभामुख अग्नि सापकाेटा एमाले सिध्याउन खाेज्नेहरूको मतियार बनेको बताएएक छन् । एमालेले आफ्ना १४ जना सांसदमाथि कारबाही गरेको पत्र बुझाउँदासमेत सभामुख सापकोटाले सूचना जारी नगरेर एमाले सिध्याउनेहरूको मतियार बनेको ओलीको भनाइ छ ।

एमालेले कारबाही गरिसकेको नेताहरूलाई निर्वाचन आयोगलेसमेत सनाखत गराएको उनले बताए ।

आजको सदनमा १५ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ । नयाँ पार्टी (नेकपा एकीकृत समाजवादी) गठन गरेका माधव कुमार नेपालसहित १४ जनालाई सांसदबाट कारबाही गरिएको सम्बन्धमा सभामुखले ’आवश्यक पक्रिया’ अगाडि नबढाएको भन्दै एमाले रुष्ट छ।

संसद् बैठक बुधबार अपराह्न ४ बजेका लागि बोलाइएको छ। बुधबारको बैठकमा सरकारले २ दर्जनभन्दा बढी अध्यादेश पेस गर्ने तयारी गरेको छ।

सम्बन्धित खबरहरु