काठमाडौं – अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चार दिने भ्रमणमा आउँदै छन्। उनीहरु कतारबाट आज काठमाडौं आउने भएका हुन्।
नेपाल भ्रमणको अघिल्लो दिन एमसीसीले नेपालले सोधेको प्रश्नमा जवाफसमेत पठाएको छ। नेपालले एमसीसीबाट प्राप्त रकम विद्युत् प्रसारण लाइन निर्माणलगायतमा लगानी गरेको छ। उनीहरू एमसीसी परियोजनाका प्रक्रियागत प्रगतिबारे जानकारी लिन नेपाल आउन लागेको जनाइएको छ। उनीहरुले आजै प्रधानमन्त्री शेरवहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ।
सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने रु ५० अर्ब सहयोगलाई लिएर राजनीतिक वृत्तका साथै जनस्तरमा मतान्तर रहेका बेला हुन लागेको यो भ्रमणलाई चासोका साथ हेरिएको हो।
नेपालको आर्थिक विकास र गरिबी निवारण प्रवर्द्धनको साझा लक्ष्यका साथ सम्झौता भएको परियोजनामा ४०० किलोभोल्ट क्षमताको ३१८ किलोमिटर लामो प्रसारण लाइन एवं तीन उच्च क्षमतायुक्त सबस्टेशन निर्माणमा केन्द्रित विद्युत् प्रसारण आयोजना र बढीमा ३०० किलोमिटर रणनीतिक सडकको मर्मतसम्भारका विषय समावेश गरिएको छ।
नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ।