आज हरितालिका अर्थात् तीज पर्व। हिन्दु धर्मावलम्बी नेपाली महिलाहरूले महादेवको पूजा आराधना गरी आज हर्षोल्सासपूर्वक तीज पर्व मनाउँदै छन्।
तीज पर्वको अवसरमा सरकारले आज महिला कर्मचारीलाई बिदा दिएको छ। तीजमा ब्रत बसेर महादेवको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ।
तीजको अघिल्लो दिन मिठोमसिनो परिकारसहितको दर खाने चलन छ। तीजमा विशेषगरी माइती एवं दाजुभाइले विवाहित छोरीचेली, दिदीबहिनीलाई बोलाई मिठोमसिनो खानेकुरासहितको दर खुवाउने प्रचलन छ।
दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व तीनदिन अर्थात् ऋषि पञ्चमीसम्म मनाइन्छ। तर, पछिल्ला वर्षहरुमा एक महिनाअघि देखि नै सामूहिक रुपमा भोजभतेर गरेर तीज मनाउने क्रम बढ्दै गएको छ। जसलाई कतिपयले विकृतिको रुपमासमेत अथ्र्याउन थालेका छन्।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष पनि सरकारले स्वास्थ्य मापदण्ड पालना गरेर तीज पर्व मनाउन आग्रह गरेको छ। कोरोना संक्रमण हुने डरको कारण अघिल्लो वर्ष तीजमा कुनै भीडभाड थिएन। निषेधाज्ञा कायम थियो। तर, यो वर्ष भने सरकारले निषेधाज्ञा खुकुलो गरेपछि तीजमा भिडभाड बढेको छ। दुई साताअघि देखि नै महिलाहरुले पार्टी प्यालेस, खुला ठाउँ र चौरमा भेला भएर तीज मनाइरहेका छन्।
सत्ययुगमा आजकै दिन निराहार व्रत बसेकी पार्वतीले महादेव स्वामी पाएको पौराणिक कथासँग तीज पर्व जोडिएको छ। आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ। तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरू नै बताउँछन्।
तीजमा विवाहित महिला पतिको दीर्घायू र शुस्वास्थ्यको कामनासहित व्रत बस्ने परंपरागत चलन छ। अविवाहित युवतीहरु भने असल पति प्राप्तीको कामनासहित व्रस्त बस्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रका जानकारहरु बताउँछन्।
यसवर्ष पनि तीज पर्वका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिर नखुल्ने भएको छ। कोरोना संक्रमण पुनः बढेपछि पशुपतिनाथ मन्दिर गएको वैशाख पहिलो सातादेखि नै बन्द छ। नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम केही कम भएकाले भोलिदेखि भने पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्ने पशुपति क्षेत्र विकास कोषको तयारी छ।
तीजका दिन पशुपतिनाथ मन्दिर बन्द रहे पनि पशुपति क्षेत्र परिसरमा भने भक्तजनलाई जान निषेध नगरिएका कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले बताए। पशुपति क्षेत्रमा जाँदा मास्क अनिवार्य लगाउन, भौतिक दूरी कायम गर्न उनले आग्रह गरे।
आज पशुपतिनाथबाहेकका देशका अन्य धेरै मन्दिर भने खुलेका छन्।