नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको महामन्त्री पदमा चुनाव लड्ने औपचारिक घोषणा गरेका छन्।

बिपी कोइरालाको जन्मजयन्तीको अवसरमा सुन्दरीजल पुगेर शर्माले १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

आज बिपीको १०८ औं जन्मजयन्ती हो। सुन्दरीजलमा बिपी संग्रहालय छ, यहाँ बिपी-गणेशमान सिंहको शालिक पनि छ। शर्माले बिपी र गणेशमानको सालिकमा माल्यार्पण पनि गरे। सुन्दरीजल संग्रहालयलाई कांग्रेसको जीवित इतिहास पनि भन्ने गरिन्छ।

त्यसपछि शर्माले उपस्थित स्थानीय नेता तगा कार्यकर्तालाई सम्बोधन गर्दै आफू महामन्त्री उम्मेदवार हुने घोषणा गरेका छन्।

सम्बोधनका क्रममा शर्माले आफू महामन्त्री बने नेपाली कांग्रेसलाई लगातार तीन आमनिर्वाचन जिताउन भूमिका खेल्ने संकल्प पनि गरे।

सम्बोधनपछि सुन्दरीजलमा बिपीले रोपेको कपुरको बोटनजिकै शर्माले रूद्राक्षको बिरूवा रोपेका छन्।

प्रवक्ता शर्मा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवानिकट छन्।

शर्मा २०७२ सालमा भएको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य चुनिएका थिए। शर्मालाई सभापति देउवाले पार्टीको प्रवक्ता बनाएका हुन्। सभापतिमा फेरि यसपटक पनि देउवा उठ्ने तयारीमा छन्। देउवाकै टिमबाट शर्मा महामन्त्रीमा चुनाव लड्न लागेका छन्।

शर्मा नेविसंघको राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन्।  झापाका शर्मा नेविसंघका पूर्वअध्यक्ष हुन्।

सम्बन्धित खबरहरु