काठमाडौं – अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारसहितको टोली र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भएको भेटवार्ता सकिएको छ।

दुई पक्षबीच बिहीबार दिउँसो २ बजेदेखि करिब एक घण्टासम्म संवाद भएको हो। महाराजगञ्जस्थित अमेरिकी दूतावासबाट सुमारसहितको टोली सिधै बालकोट पुगेर ओलीसँग वार्ता गरेको हो।

सुमारसँगै एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि बालकोट पुगेका थिए। सुमार नेपाल आएपछि सबैभन्दा पहिले संघीय संसदमा प्रमुख प्रतिपक्षी दलका नेतासँग संवाद गरेकी हुन्।

भेटका क्रममा एमसीसी उपाध्यक्षले अनुमोदनको प्रक्रिया बढाउनुपर्छ भन्ने अमेरिकी पोजिसन रहेको बताउँदै प्रक्रियामा सघाउन एमालेलाई आग्रह गरेकी थिइन् ।

जवाफमा ओलीले सत्तारुढ दलहरुले एमसीसीबारे स्पष्ट धारणा बनाएपछि मात्र आफूहरुले पोजिसन क्लियर गर्ने बताएको एमालेको विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

‘हामीले हतारिएर पोजिसन बनाउँदैनौं । पहिले सरकारमा रहेकाहरुले पोजिसन क्लियर गर्नुपर्छ’ भट्टराईले भने, ‘अध्यक्षज्यूले रुलिङ पार्टीको पोजिसन क्लियर हुनुपर्ने धारणा राख्नुभयो ।’

बिहीबार बिहान काठमाडौं आएको यो टोलीले ओलीपछि अन्य राजनीतिक भेट गर्दै छ। ओलीसँग भेटेपछि फातिमा सुमारको टोली होटल याक एण्ड यतिस्थित एमसीए नेपालको कार्यालयमा आउने बताइएको छ।

सुमारसहितको प्रतिनिधिमण्डलसँगको भेटवार्तामा अध्यक्ष ओली, स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापा सहभागी थिए।

संसद्मबाट एमसीसी पास गर्ने वा नगर्ने बहस चलिरहेको बेला उपाध्यक्ष सुमारसहितको टोली नेपाल आएर प्रमुख प्रतिपक्ष दलसँग भेट गरेको हो। चारदिने भ्रमणमा नेपाल आएकी सुमारले शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ।

उनले काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भटटराई, अर्थमन्त्री जनार्दन शर्मालगायतका नेताहरुसँग भेटवार्ता गर्ने कार्यसूची छ। प्रधानमन्त्री देउवालाई सुमारले शुक्रबार अपरान्ह भेट गर्ने कार्यतालिका तय भएको सचिवालय स्रोतले जनाएको छ। उनी बिहीबार बिहान कतार एयरको जहाजबाट त्रिभुवन विमानस्थल आइपुगेकी हुन्।

सम्बन्धित खबरहरु