काठमाडौं- बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । बैठकपछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले आजको बैठकमा उपर्युक्त विषयमा सामान्य छलफल भएपनि महत्वपूर्ण निर्णय भने केही नभएको बताइन् । उनका अनुसार बैठकमा एमालेले संसद अवरुद्ध पारेपछिको अवस्थाबारे पनि समीक्षा भएको थियो ।

सबै शीर्ष नेताहरू जुट्न ढिलाइ भएकाले बैठक शुक्रबार बिहान ९ बजे बालुवाटारमा बस्नेगरि स्थगित भएको पौडेलले  बताइन्।

बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल उपस्थित भएका थिए।

बैठकमा प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रैबाट पनि छिटो मन्त्रिपरिषद् विस्तार गर्न दवाव आउन थालेको भन्दै यसलाई छिटो टुंगोमा पुर्याउनुपर्ने विषयमा धारणा राखेका थिए ।

आजको बैठकमा गठबन्धनका नेता उपेन्द्र यादवको भने सहभागिता रहेको थिएन । उनी अर्को कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले बैठकमा सहभागी नभएको बताइएको छ ।

यसैगरी, कांग्रेसका दोस्रो तहका नेताहरू समेत बैठकमा सहभागी भएका थिए। बैठकमा तत्काल मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने विषय उठेको पौडेलले बताइन्।

‘मन्पित्ररिषद् विस्तारका विषयमा सत्तारुढ गठबन्धनको बैठक बोलाएको थियो। त्यहाँ प्रचण्ड-माधव कमरेड हुनुहुन्थ्यो। उपेन्द्रजी आइपुग्नु भएन’ पौडेलले भनिन्, ‘माधव कमरेड काम पर्‍यो भनेर बीचमै निस्कनु भयो। त्यसपछि भोलि बिहान ९ बजे बैठक बस्ने सहमति गरेर उठ्याै‌ं।’

सत्तारूढ गठबन्धनको बैठक सकिएपछि जसपा अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगेका थिए। ‘अघि साथीहरुले बसेर छलफल गर्नु भयो। म उपस्थित हुन सकिनँ’ यादवले भने, ‘अहिले म बालुवाटार पुगेको छु।’

सम्बन्धित खबरहरु