काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए अनुसार बैठक आज अपराह्न ४ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्न लागेको हो ।
आजको बैठकका लागि दुई वटा एजेन्डा तय भएको तामाङले जानकारी दिए । पहिलो, विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन तयारी रहेको छ । त्यसैगरी दोस्रो एजेण्डामा चालु संसद्मा पार्टीको भुमिका रहेको छ ।
नेकपा एमाले विभाजनको सन्दर्भमा सभामुखको भूमिकालाई लिएर एमालेले बुधबारको प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध गरेको थियो । एमालेले एकीकृत समाजवादीका सांसद्हरुलाई सदनबाट निष्कासन गर्न माग गरेको थियो ।
संसदमा पार्टीका भूमिकाबारे पनि आजको बैठकमा छलफल हुनेछ। एमालेले असोज ४ देखि ६ गतेसम्म विधान महाधिवेशन गर्ने तयारी गरेको छ। विधान महाधिवेशन काठमाडौंमा हुनेछ।