काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक भर्खरै सकिएको हो ।
नेकपा एमालेको विधान महाधिवेशनका प्रतिनिधि छनौटमा थप छलफल गर्नु पर्ने भएपछि स्थायी कमिटी बैठक आजै फेरि बस्ने गरि स्थगित भएको छ ।
बिहान ९ बजे बोलाइएको बैठक दिउँसो साढे १२ बजे सकिएको थियो। अर्को बैठक आजै दिउँसो साढे ३ बजे बस्ने प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए। आजको बैठकको निर्णय उनैले सुनाएका थिए।
बैठकमा आगामी विधान महाधिवेशनको बारेमा छलफल भएको भट्टराईले बताए। त्यसमा प्रस्तुत गरिने दस्तावेज तथा प्रतिनिधित्वको संख्या नटुंगिएकाले आजै अर्को बैठक बसेर टुंग्याइने उनको भनाइ छ।
नवौं महाधिवेशनपछि राष्ट्रिय प्रतिनिधि परिषद् निर्वाचित नभएकाले अन्तरिम व्यवस्था गर्न लागिएको उनको भनाइ छ। तीन हजारको सेरोफेरोमा प्रतिनिधित्व हुने उनले बताए।
बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन) र चालु संसद अधिवेशनमा पार्टीको भूमिकाबारे छलफल भएको थियो ।
बैठकमा अधिकांश स्थायी कमिटी सदस्य उपस्थित भएका थिए। तर रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, किरण गुरुण र पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरु अनुपस्थित थिए।
एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ पार्टीको गण्डकी प्रदेशस्थित जिल्ला भेलामा रहेको बताइएको छ।
यसअघि एमालेले शुक्रबार अपरान्ह ४ बजेका लागि स्थायी कमिटी बैठक डाकेको थियो। तर अधिकांश नेताहरु प्रतिनिधि सभा बैठक सहभागी रहेका बेला बैठक शनिबारसम्मलाई स्थगित भएको थियो ।