नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक यही भदौ २९ गते मङ्गलबार काठमाडौँमा बोलाएको छ।
बैठकमा केही नेताको कार्य विभाजन, देशभर सङ्गठन विस्तारका लागि आवश्यक कमिटी गठन र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।
खतिवडाका अनुसार हाल विवादमा परेको अमेरिकी परियोजना एमसीसीबारे पनि यही बैठकले आधिकारिक धारणा बनाउनेछ।
समाजवादीले केन्द्रीय कमिटी बस्नुअघिसम्म तत्कालीन नेकपाको पालामा झलनाथ खनाल नेतृत्वको कार्यदलको सुझाव अनुसार नै एमसीसीलाई अघि बढाउनुपर्ने बताउँदै आएको छ।
नेकपा समाजवादीले यसअघि पार्टीले विभिन्न ६ प्रदेशमा इन्चार्ज तोक्नाका साथै केही विभाग गठन गरेर नेताहरुलाई जिम्मेवारी प्रदान गरेको थियो ।
नेकपा (एमाले)बाट अलग भई हालै गठन भएको नेकपा (एकीकृत समाजवादी)ले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्ने क्रममा जनवर्गीय सङ्गठन निर्माण गरिरहेको छ।
पार्टीको यही भदौ २७ गते गण्डकी प्रदेशको भेला पोखरामा गर्न लागिएको बताइएको छ।