काठमाडौं – सत्ता गठबन्धनको बैठक सकिएको छ । १० बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक सकिएको हो ।

विशेषगरी संसद बैठकबारे रणनीति बनाउन तय गर्ने विषयमा बैठकमा छलफल भएको नेताहरुले बताएका छन् ।

आजको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको संसदलाई कसरी अगाडि बढाउने भन्ने विषयमा केन्द्रित रहेको छ । यस्तै नेताहरूबीच राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाउने विषयमा पनि छलफल भएको एक नेताले बताए ।

संसद अधिवेशन चलिसकेकाले यसलाई प्रक्रियाबाट टुंगो लगाउनुपर्छ वा संसद अन्त्य गरेर निष्क्रिय बनाउनुपर्छ । विषेशगरी जनता समाजवादी पार्टीले राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय पार्न प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका नेताहरूलाई आग्रह गर्दै आएको छ ।

शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषदले पूर्णता पाएको छैन । देउवा नेतृत्वको मन्त्रिपरिषदमा हाल चार मन्त्री र एक राज्यमन्त्री मात्र छन् ।

गत शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले आ–आफ्नो पार्टीमा छलफल गरेर छिटो मन्त्रीहरूको नामावली दिन शीर्ष नेताहरुलाई आग्रह गरेका थिए । मन्त्रिपरिषद विस्तारको बारेमा भने अर्को बैठकमा टुंगो लगाउने नेताहरूले बताएका छन् ।

त्यस्तै, मन्त्रीपरिषद विस्तार, दल विभाजनसम्वन्धी अध्यादेश लगायतका विषयमा पनि छलफल भएको छ ।

सम्बन्धित खबरहरु