काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्।
प्रतिनिधि सभा बैठकमा जारी अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन्।
गृहमन्त्री वालकृष्ण खाणले सोमबार दिउँसो २:३० बस्ने गरी सभामुखले सर्वदलीय बैठक बोलाएको जानकारी दिए।
सर्वदलीय बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से भवनमा बस्ने जनाइएको छ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा बैठकमा जारी अवरोध कहिले हट्छ भन्नेबारे विपक्षी दलका नेतालाई सोध्न आग्रह गरेका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको नाराबाजीका कारण आइतबार प्रतिनिधि सभा बैठक स्थगित भएपछि संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै देउवाले संसदमा जारी अवरोध कहिले हट्छ भन्नेबारे एमाले अध्यक्ष केपी शर्मा ओलीलाई थाहा हुने बताए।
संसद् अवरोध कहिलेसम्म हट्छ? भन्ने सञ्चारकर्मीको प्रश्नमा देउवाले भने, ‘यो प्रश्न केपी ओली (विपक्षी दलका नेता)लाई सोध्नुस्।’
गत बुधबारदेखि सुरु भएको प्रतिनिधि सभाको नवौं अधिवेशनअन्तर्गका बैठकहरुमा एमाले सांसदहरुले निरन्तर नाराबाजी गरेर सदनका कारबाही अवरुद्ध गर्ने प्रयास गर्दै आएका छन्।