प्रतिनिधिसभाको बैठक ४ असोजसम्मका लागि स्थगित गरिएको छ । मंगलबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले भने, ‘अब अर्काे बैठक २०७८ असोज ४ गते बिहान ११ बजे बस्नेछ ।’

मंगलबारको बैठकले विनियोजन विधेयक २०७८माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ भने सांसदहरू रुक्मशमशेर जबरा र मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

एमाले सांसदहरूको नाराबाजीकाबीच सभामुख सापकोटाले मंगलबार बैठकलाई कार्यसूचीमा प्रवेश गराएका हुन् ।

यस्तै एमाले सांसदहरूको अवरोधका बीच प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक स्वीकृत भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले विधेयक पेस गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले छलफलका लागि समय दिएका थिए । सभामुखले दिएको समयमा नेमकिपाका सांंसद प्रेम सुवालले भाग लिएपछि अर्थमन्त्री शर्माले जवाफ दिएका थिए ।

जवाफलगत्तै सभामुखले विधेयकलाई निर्णयार्थ प्रस्तुत गरे । बहुमत सांसदले विधेयकको पक्षमा स्वर दिएपछि सभामुखले विधेयक पारित भएको घोषणा गरे ।  विधेयक पारित भएपछि शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको छ ।

सम्बन्धित खबरहरु