काठमाडौं – सरकारले सुकुम्बासी समस्या समाधानका लागि नयाँ आयोग गठन गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय भूमि आयोग, २०७८’ गठन गर्दै आयोगको अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरेको हो।
निरौला र खड्काले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ लिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त अध्यक्ष निरौलालाई शपथ गराएका हुन्।
शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुम्वासीका समस्याहरुलाई हटाउने बताए।
उनले सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म देशमा जटिलताहरु थपिँदै गएकोले आफ्नो नेतृत्वको टीमले ती समस्याहरुलाई हटाउने प्रयत्न गर्ने बताए।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले २०७७ साल वैशाखमा एमाले नेता देवी ज्ञवालीको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको थियो ।
आयोगले ७७ वटै जिल्लामा समिति गठन गरेर काम गरिरहेको बेला देउवा सरकारले भंग गरेको थियो । प्रमुख प्रतिपक्षी एमालेले आयोग भंग गरेर सरकारले भूमिहीनमाथि अन्याय गरेको आरोप लगाएको थियो । यससम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ ।