काठमाडौँ – काठमाडौं उपत्यकाका अधिकांश विद्यालयमा दशैंअघि भौतिक उपस्थितिमा पठनपाठन नहुने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार निजी विद्यालयहरुका संगठनहरु प्याब्सन तथा एनप्याब्सन, अभिभावकहरु, शिक्षा तथा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थितिमा भएको छलफलमा कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतार नगर्ने सहमति भएको हो।
छलफलमा स्वास्थ्य मन्त्रालयका अधिकारी, शिक्षा सचिव, सीसीएमसीका अधिकारी र शिक्षा क्षेत्रसँग सरोकार राख्ने विभिन्न व्यक्तिहरु सहभागी थिए।
छलफलका सहभागी शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले स्वास्थ्य मन्त्रालयको पहलमा भएको उक्त छलफलमा तत्कालै विद्यालय खोल्नु उपयुक्त नहोला कि भन्ने विचारहरु आएका थिए। अहिले सामान्य रुपमा थोरै विद्यार्थी भएका विद्यालयका केही कक्षा सञ्चालन गर्दै जाने र दसैँतिहारपछि पूर्ण क्षमतामा विद्यालय खोल्नेबारे छलफल भएको थियो।
कार्यक्रममा सहभागी भएका एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले थोरै विद्यार्थी भएका विद्यालय मापदण्ड अपनाएर खोल्ने र धेरै विद्यार्थी भएको विद्यालय नखोल्ने सहमति भएको बताए।
काठमाडौं उपत्यकाका केही स्थानीय तहले विद्यालय सञ्चालन गरेपछि निर्णयमा एकरुपताका लागि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरोकारवालालाई छलफलमा बोलाएका थिए।