नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपालले लिएको बाटो सही नभएको बताएकी छन्।

नेकपा एमालेले बिहीबार गरेको काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधनका क्रममा नेता नेपालले नयाँ पार्टी खोलेर जनमत सिर्जना गर्न नसक्ने पनि उनले बताइन्।

‘म भन्छु, माधव नेपालले लिएको बाटो सही छैन। यतिबेला फुटको राजनीतिक होइन, जुटको एकजुटको सुदृढ राजनीति आवश्यकता छ’, बागमती प्रदेशकी मुख्यमन्त्रीसमेत रहेकी उनले भनिन्, ‘माधव नेपाल हामी सबैको नेता हो। आज आफूले जीवन दिएको पार्टी चटक्क त्यागेर नयाँ जनमत सिर्जना गर्छु भन्नु सही हुन सक्दैन।’

नेतृ शाक्यले माधव नेपालले दु:ख गरेर जन्माएको पार्टी भएकाले उनलाई एमालेमै फर्किन पनि भनिन्, ‘आफूले दु:ख गरेर जन्माएको पार्टी एमाले हो। उहाँले समीक्षा गर्नुस्, फर्केर आउनुस्’, उनले भनिन्, ‘सुदृढ एमाले बनाउनुपर्ने अहिलेको आवश्यकता छ। पार्टीको त्यत्रो पंक्तिालई अलमल्याएर राख्नु ठीक छैन।’

शाक्यले एमालेसँग फुट र जुट दुवैको इतिहास रहेको पनि बताइन्। ‘हामीसँग फुटको र जुटको इतिहास दुवै छ। कहिले हार्दै जित्दै आएको एमाले अहिले महासागर बनेको छ’, शाक्यले थपिन्, ‘२०७५ जेठ ३ गते एकता हुँदा हामीलाई खुसी लागेको थियो। मुलुकलाई परिवर्तन गर्ने भनेर अघि बढेका थियौँ। तर हामीलाई अदालतले हामीलाई छुटयाइदिएको छ।’

उनले अदालतले एमाले फर्काइदिएपछि आफूहरु लामो समय पार्टीबाहिर बसेर फर्किएको पनि बताइन्। ‘लामो समय हामी बाहिर बस्नुपर्यो। जिन्दगीमा मलाई त्यसबेला धेरै पीडा भयो’, उनले थपिन्, ‘नेकपा एमाले पहिलो बनाउन लाग्दा खुसी भएकी थिएँ। २०७८ जेठ १ गते खुसी भएँ।

एमाले निर्माणमा हजारौँ कार्यकर्ता र योद्धाको त्याग थियो। एमालेभित्र अब कहिल्यै यस्तो नहोस् टुट फुट नहोस्।’

शाक्यले सबै कुरा छाडेर अब कम्युनिष्ट पार्टी बलियो बनाउनुपर्नेमा जोड दिइन्। ‘सबै कुरालाई छाडेर कम्युनिष्ट पार्टी भनेर लाग्नुपर्छ। अन्तरपार्टी निर्देशनको अक्षरश पालना गरौँ, त्यसमा जालझेल नगरौँ। जेठ २ मा फर्किँदा जो आउँछ उसैलाई स्वीकारेर जाऊँ।

विभाजित भएर फुटेर फाइदा भयो र?’, उनले भनिन्, ‘हामीलाई कमजोर बनाउने शक्तिले हामीलाई फुटाइसके। एमालेलाई समाप्त गर्न चाहन्थे। अन्तरपार्टी संघर्षलाई अक्षरस पालना गरेर जानुपर्छ’, उनले थपिन्, ‘कुनै पूर्वाग्रहबिना मनमुटावबिना हामी सुदृढ एमाले बनाउन लागौँ। नेकपा एक बनाएर पनि हामीले हाम्रो बर्चस्व लामो समय टिकाउनै सकेनौँ।’

शाक्यले कम्युनिष्ट आन्दोलन अघि बढेको हेर्न नचाहनेले अनेकौँ खेल गरेको पनि बताइन्। ‘त्यो खेलको शिकार कम्युनिष्ट आन्दोलनको नेतृत्व भएको हो। मैले सुदृढ एमाले बनाउनुपर्छ भनेर अघि बढिरहँदा, कहिले नोक्सान कहिले सफलता हाँसिल गरिरहँदा विचारबाट विचलित भयौँ’, उनले थपिन्, ‘पार्टीमा राजनीतिक वैचारिक प्रशिक्षण कहिले भएन।’

उनले नवौँ महाधिवेशनबाट ‘समृद्ध नेपाल सुखी नेपाली’ भने पनि प्यानल बनाएर लड्नु गल्ती भएको बताइन। ‘तर हामीले दुईवटा प्यानल बनाएर लड्दा गुटबन्दी र अनेक विवाद सिर्जना भए। कहिले पनि सगोल एमाले हुन सकेन’, शाक्यले थपिन्, ‘अब हामीले कहिले पनि प्यानल बनाएर चुनाव लड्नु हुँदैन।

हामीले यसअघि सुदृढ एमाले होइन कमजोर एमाले बनायौँ। अब हामीले निर्मम समीक्षा गरेर ठीक र बेठीक नछुट्याई अघि बढ्नु हुँदैन। निर्मम समीक्षा गर्नैपर्छ। त्यो आँट गर्नैपर्छ।’

शाक्यले अब एमालेजन रुपान्तरित नभए सक्किने चेतावनी दिइन्। ‘अब हामी रुपान्तरित हुने किन नहुने? तलदेखि माथिसम्म माथिदेखि तलसम्म हाम्रा विचार सोच र व्यवहार रुपान्तरित हुने कि नहुने?’, उनले सोधिन्, ‘सामन्ती अवशेष राखेर काम गर्ने हो भने हामीलाई गाह्रो हुन्छ। कम्तीमा पनि नेता कार्यकर्ता हाम्रो सिंगो पंक्ति रुपान्तरित हुनुपर्छ। हामी गालीगलौजको राजनीति गर्छौँ। अब त्यसलाई बन्द गरौँ।’

सम्बन्धित खबरहरु