काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही असोज ४ गतेदेखि कोरोनाविरुद्धको भेरोसेल खोप दोस्रो मात्रा लगाउने भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका १४५ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको हो। कार्यालयले यही असोज ४ देखि ६ गतेसम्म ती खोप केन्द्रमा गई खोप लगाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ।
कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार खोप लगाउनका लागि काठमाडौं महानगरपालिकामा ३२, कीर्तिपुरमा १०, चन्द्रागिरिमा १५, नागार्जुनमा १०, तारकेश्वर ११, दक्षिणकालीमा नौ, बूढानीलकण्ठमा १३, टोखामा ११ तथा गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी मनहरामा ९/९ खोप केन्द्र तोकिएको छ।
यसैगरी काठमाडौं महानगरपालिकामा थप सात खोप केन्द्र तोकिएको छ। नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र तोकिएको छ।
सरकारले शुक्रबार चीनबाट ४४ लाख मात्रा भेरोसेल खोप नेपाल ल्याएको थियो।