काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेनिकट कर्मचारीहरुलाई सरकारमा जो सुकै भएपनि देश र जनताको सेवा गर्ने कामबाट पछि नहट्न निर्देशन दिएका छन्।

नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिको आठौं केन्द्रीय बैठक र राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

‘म प्रधानमन्त्री हुँदा एउटा ठूलो दलको नेताले कर्मचारीलाई राखेर सरकारलाई असहयोग गर्नुस् भनेर निर्देशन दिएछन्,’ उनले भने, ‘ती पार्टी कसरी लोकतान्त्रिक हुन सक्छन्?’ उनले कर्मचारीलाई त्यस्तो दूषित विचारबाट दुष्प्रभावित नहुन निर्देशन दिए।

‘देश र जनताको सेवा गर्ने हो। कुन सरकार छ भन्ने होइन। आफ्नो कर्तव्य सक्रियताका साथ निर्वाह गर्नुस्। सरकारलाई असहयोग गर्ने भन्ने होइन,’ उनले भने, ‘त्यसो हुँदा देश र जनतालाई असर पर्छ। कांग्रेस र माओवादी जस्तो गर्नु हुँदैन। पार्टीको सदस्य भनेर तपाईंहरुले काम गर्ने होइन।’

सरकारलाई भ्रष्टाचार गर्न नदिन कर्मचारी चनाखो हुनुपर्ने ओलीको भनाइ छ। ‘राष्ट्र सेवकको काम सेवा उपलब्ध गराउने हो। तपाईंहरुको काँधमा गहन जिम्मेवारी छ। देशमा अझै पनि भ्रष्टाचार छ।

स्वच्छताको प्रतिक हुनुपर्छ। भ्रष्टाचार आफू पनि नगर्ने अरुलाई पनि गर्न नदिने नीति अख्तियार गरेर अघि बढ्नुपर्छ’, उनले भने, ‘मैले प्रधानमन्त्री हुँदा नै आफू पनि भ्रष्टाचार गर्दिनँ अरुलाई पनि गर्न दिन्नँ भन्ने नीति अघि सारेको थिएँ।

सम्बन्धित खबरहरु