काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल हुन आग्रह गरेकी छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवस-२०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले लामो संक्रमणकाल र द्वन्द्वलाई समाप्त पार्न सफल राजनीतिक दललाई संविधानप्रदत्त नागरिक अधिकारको उपयोग गरी शान्तिपूर्ण माध्यमबाट राजनीतिक उद्देश्य हासिल गर्न राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल हुन आह्वान गरेकी हुन् ।
भण्डारीले राज्यबाट प्राप्त सेवा तथा सुविधा स्थापित गरी आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्ने पनि बताएकी छन् ।तत्कालीन जननिर्वाचित संविधान सभाबाट ३ असोज २०७२ मा संविधान जारी भएको थियो ।
त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले ३ असोज इतिहासकै स्वर्णिम दिन भएको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति पुनले विभिन्न कालखण्डका जनआन्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध, २०६२/६३ काे जनआन्दोलनलगायत विभिन्न आन्दोलनमा शहादत प्राप्त गर्ने वीर सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै सुख, शान्ति, समृद्धि एवम् समुन्नति तथा समृद्धिको शुभकामना दिएका छन् ।
त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको बताएका छन् ।
सातौँ संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रम देउवाले मुलुकमा क्रमशः शान्ति स्थापना, संविधान निर्माण तथा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन भइ संविधान कार्यान्वयन गरेको सर्वविदितै रहेको चर्चा गरेका छन् । उनले सन्देशमा भनेका छन्, ‘यो संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ।’
देउवाले मुलुकको अग्रगामी परिर्वतनका लागि अमूल्य जीवन उत्सर्ग गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री देउवाले परिवर्तनका लागि भएका संघर्षमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानिक क्षति व्यहोरेका सबैलाई स्मरणसमेत गरेका छन्। नेपालमा ३ असोज २०७२ मा संविधान जारी भएको थियो ।